सिनेमा

राजन कठेत र सुनिर पाण्डेको ‘नो विन्टर होलिडेज’लाई अजरबैजानमा स्पेसल मेन्सन अवार्ड

इकागज |
असोज १६, २०८० मंगलबार ११:५६ बजे

काठमाडौँ -  राजन कठेत र सुनिर पाण्डेको निर्देशन रहेको फिचर डकुमेन्ट्री ‘नो विन्टर होलिडेज’ले अजरबैजानमा स्पेसनल मेन्सन पाएको छ । डकुमेन्ट्रीले डोकुबाकु इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जितेको हो ।

यही विधातर्फको उत्कृष्ट फिल्मको पुरस्कार भने ‘मिस्टर ग्रेभरसेन’ले जितेको फेस्टिभल आयोजकले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।नेपाली नाम ‘ढोरपाटन’ रहेको डकुमेन्ट्री रातिमा र कालिमा नामका दुई महिलाको कथा प्रस्तुत गर्छ जो हिउँदको चिसोमा सँगै समय गुजार्न बाध्य हुन्छन् । यसमा रोचक के छ भने दुवै महिला सौतेनी सम्बन्धमा बाँधिएका छन् । जीवनभर एक अर्कासँग तीतो सम्बन्ध राखेका दुई महिलाले हिउँदको जाडो सँगै कटाउन गर्ने संघर्ष र तीतो मीठो सम्बन्ध डकुमेन्ट्रीको विषय हो । 


राजन र सुनिरले लामो समय लगाएर तयार पारेको यो डकुमेन्ट्री लन्डनको सेफिल्ड डकफेस्टमा वल्र्ड प्रिमियर भएको थियो । डकुमेन्ट्रीलाई बबिन दुलालले खिचेका हुन् भने सम्पादन किरण श्रेष्ठले गरेका हुन् । 

यसअघि यो डकुमेन्ट्री दक्षिण कोरियाको डीएमजेड इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो । डकुमेन्ट्रीले पितृसत्ताको बाछिटासँगै जलवायु र बुढेसकालमा महिलाको एक्लोपनको विषयलाई चखिलो गरी देखाएको समीक्षा पाएको थियो ।


Author

थप समाचार
x