सिनेमा

आठ महिनापछि अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘आमा’

इकागज |
असोज ३०, २०७७ शुक्रबार १३:२७ बजे

काठमाडौं : नेपालमा फिल्म रिलिज भएपछि फिल्मको प्रतिक्रिया हेरेर विदेशतिर फिल्म लिने चलन छ । गत वर्ष रिलिज भएको फिल्म ‘आमा’का निर्माता पनि नेपालमा दर्शक र समीक्षक दुवैबाट तारिफ पाएपछि विदेशतिर फिल्मको माग बढ्ने कुरामा ढुक्क थिए । सोचेजस्तै भएको पनि थियो तर बीचैमा विश्वभर कोभिड-१९ को लहर आयो ।

फागुन ९ गते रिलिजको भए फिल्म हलबाट त उत्रियो नै विदेशमा पनि प्रदर्शन हुन सकेन । तर, फिल्मका सह-निर्माता सन्तोष अधिकारीले करिब ८ महिनापछि अष्ट्रेलियामा प्रदर्शनको चाँजो मिलाएका छन् । अष्ट्रेलिया सरकारले सामाजिक सुरक्षाको मापदण्डलाई आत्मसात गर्दै हल  सञ्चालन गर्ने निर्णयसँगै ‘आमा’ प्रदर्शन गर्न लागेको अधिकारीले बताए ।


उनका अनुसार अष्ट्रेलियामा हाल दुई सय सिट क्षमताका हलमा ५० जना मात्र राख्ने गरी फिल्म प्रदर्शन गर्न लागिएको छ ।  ‘कोरोनाको स्थिति हेरी सरकारले सिट क्षमता  बढाउने भनेको छ । प्रदर्शन हुँदै गर्दा नयाँ नियम आउन पनि सक्छ । यसो भयो भने पूर्ण क्षमतामा देखाउन सकिनेछ,’ हाल अष्ट्रेलियामा नै रहेर फिल्म प्रदर्शनको दौडधुपमा रहेका अधिकारीले इकागजसँग भने । तास्मानियाको परिणाम हेरेर अष्ट्रेलियाका अन्य सहरमा पनि प्रदर्शनको तयारी थाल्ने अधिकारीको योजना छ ।

‘आमा’ यही अक्टोबर २० मा अष्ट्रेलियाको तासमानियामा प्रदर्शन हुनेछ । दसैंको छेको पारेर प्रदर्शन गर्न लागिएको फिल्म ‘आमा’लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरि लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

अधिकारीले अष्ट्रेलियामा जस्तै नेपालमा पनि हल खोल्दै जानु पर्ने सुझाए । उनले भने, ‘अष्ट्रेलियाको जस्तै नेपालमा पनि हल खोल्ने कुरामा सरकार सकारात्मक हुनुपर्छ । अब कोरोनासँगै जिउनुपर्ने आवश्यकता छ । पुरानो लयमा फर्किनै पर्छ ।’


Author

थप समाचार
x