सिनेमा

नेपाली क्रिकेट टिमका खेलाडीलाई 'दिमाग खराब'को पुरस्कार

इकागज |
कात्तिक १३, २०८० सोमबार ११:१५ बजे

काठमाडौँ-  कात्तिक २४ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको सिनेमा 'दिमाग खराब'को टिमले नेपाली क्रिकेट टिमका खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ । सोमबारबाट नेपालमा सुरु भएको टि-२० छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई फिल्मले पुरस्कार दिने घोषणा गरेको हो ।

टि-२० क्रिकेटमा ‘दिमाग खराब म्यान अफ दी म्याच’ बन्ने खेलाडीलाई ५० हजार र आफ्नो खेल कौशलले टिमलाई महत्त्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘दिमाग खराब सेग्मेन्ट अफ दी डे’ अन्तर्गत १० हजार प्रदान गरिने निर्माता रौनक बिक्रम कडेलले जानकारी दिए ।


यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउनेछन् । यसको छनोट गर्ने सम्पूर्ण अधिकार भने नेपाल क्रिकेट सङ्घ (क्यान)लाई दिइएको छ । त्यस्तै, सिनेमाको कूल मुनाफाको ५ प्रतिशत क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ । यस विषयमा आइतबार निर्माता कडेल र क्यानका पदाधिकारीबीच सहमति भएको छ ।

नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको कडेलले बताए । नेपाली सिनेमाले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा क्यानसँग सहकार्य गरेको हो । क्यानसँग मिलेर सिनेमाको टिमले ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।

क्रिकेटका सौखिक रौनकले भने - ‘अहिले देशलाई चिनाउने काम क्रिकेटले गरिरहेको छ । नेपाली खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरिहेका छन् । यो बेला सबैको साथ, सहयोग र हौसलाको खाँचो छ । यसैले सिनेमाको तर्फबाट यो घोषणा गरेका हौं ।’

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि दर्शक सिनेमाको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।


Author

थप समाचार
x