सिनेमा

कति तातो छ निश्चलको ‘दिमाग खराब’ ? विषय वा ‘टाइगर’ चुनौती ?

इकागज |
कात्तिक २०, २०८० सोमबार ११:३० बजे

काठमाडौँ - ‘लुट’ निर्देशक निश्चल बस्नेत ७ वर्षपछि निर्देशनमा फर्किएको ‘दिमाग खराब’ अबको चार दिनपछि हलमा लाग्दैछ । उम्दा मानिएको कलाकारको अभिनय रहेको फिल्मलाई लिएर फिल्मकर्मीबीच प्रशस्त उत्सुकता छ । तर यही उत्सुकता दर्शकमा चाहिँ कत्तिको छ त ?

टि–२० विश्वकप छनौटको अवसरमा भएका खेलहरूलाई चलचित्रले प्रचारको मुटु बनाएको थियो । पुरस्कार घोषणासँगै पिचमा नै फिल्मको नाम राखेर फिल्मले भिजिबिलिटी बढाउने प्रयास गरेको थियो । तर यो प्रचारको असर फिल्मको भर्चुअल सामाग्रीमा भने देखिएको छैन । हजारौँ दर्शक फिल्मको नामसँग त परिचित भए होलान् तर यो पहिचान फिल्मका सामाग्रीमा भने रुपान्तरण भएको छैन । यसको प्रमाण हो टिजर, गीत र ट्रेलरमा देखिएको अपेक्षाकृत कम भ्युज । 


दुई हप्ताअघि सार्वजनिक भएको ट्रेलरले जम्मा ६ लाख भ्युज पाएको छ । यसलाई तुलनात्मक रुपमा कमनै मान्नुपर्ने हुन्छ किनकि यो फिल्ममा वजनदार कलाकारको नाम ÷काम छ । डान्सिङ नम्बरको गीतले २० लाख भ्युज कटाएको छ जसलाई सन्तोषजनक मान्नुपर्ने हुन्छ । तर पछिल्लो समय टिकटकमा धेरै रुचाइएको भनिएको ‘हितैको माया’ गीत १० दिनमा पनि ५ लाख पुग्न संघर्ष गरिरहेको छ । 

पछिल्लो समय भर्जुअल प्लेटफर्ममा नेपाली फिल्मका सामाग्रीले पर्याप्त दर्शक पाउन सकेका छैनन् । यो इतिहासनै बनाउने भनेर हल्लाखल्ला गरिएको ‘भष्मेडन’मा पनि देखिएको थियो । न यसको ट्रेलरले हल्ला गरेअनुरुप दर्शक पाएको थियो न यसका गीत दर्शकले रुचाएका थिए । फलतः यसको असर फिल्मको पहिलो दिनको ओपनिङमा देखिएको थियो । देशविदेशमै सबैभन्दा बढी रिलिज हुने , महंगोमा बिक्री हुने आदि अनेक फन्डाका बावजुद फिल्मले पहिलो दिन हलमा दर्शक भर्न संघर्ष गर्नुपरेको थियो ।

‘दिमाग खराब’माथि यस्तो चुनौती झन् बढी देखिन्छ किनकि यो फिल्मबाट सबैभन्दा धेरै कसैमाथि भरोसा छ भने ती निश्चल बस्नेत हुन् । उनले फिल्म निर्देशन गर्न ७ वर्ष कुरेकाले केही न केही होला भन्ने अपेक्षा गर्न सकिन्छ । निश्चल कलाकार नबन्दा पनि कलाकारको भन्दा क्रेडिबिलिटी भएका निर्देशक थिए ।कलाकारको कुरा गर्दा भने यो फिल्ममा अभिनयमा शंका गर्नुपर्ने ठाउँ छैन तर दर्शकले आँखा चिम्लेर पहिलो दिननै हल कुद्ने कलाकारको उपस्थिति रहेको ट्रेलरले देखाउँदैन ।

फिल्ममा दयाहाङ राई छोटो भूमिकामा रहेको चर्चा छ । फिल्म खगेन्द्र लामिछाने र अर्पण थापाको काँधमा रहेको छ । अर्पण राम्रा कलाका हुन् जुन ट्रेलरबाट पनि महसुस गर्न सकिन्छ । अर्का कलाकार खगेन्द्र लामिछानेले भने ‘पशुपतिप्रसाद’ यता हरेक फिल्ममा दर्शकलाई निराश बनाउँदै आएका छन् । यो शृंखलाको चरम रुप ‘भष्मे डन’को निर्माता र लेखकको रुपमा अभिव्यक्त भएको दर्शकले महसुस गरेका छन् । यसले ‘दिमाग खराब’को ओपनिङलाई केही न केही असर गर्नेछ ।

‘दिमाग खराब’को वजनलाई प्रभावित गर्ने अर्को तथ्य हो यो फिल्मको विषय वस्तु । ट्रेलरले आम मानिस र मेयरबीचको संघर्षलाई विषय बनाएको संकेत गर्छ । अर्थात् यसको विषयवस्तु राजनीतिक हो, भलै निर्देशक बस्नेतले हालसालै यसको खण्डन गरेका छन् । तर ट्रेलर र पोस्टरमा राखिएको ट्याग लाइनले फिल्म राजनीतिक विषयको वरिपरि रहेको संकेत गर्छ । यो फिल्मअघि राजनीतिको वरिपरि रहेर यति धेरै फिल्म आइसके कि यसले यो विषय ‘स्याचुरेट’ भइसकेको छ । अनि दर्शक अहिले दुःखी भएर संघर्ष गर्ने पात्रको कथा हेर्ने मुडमा छैनन् । यो फिल्ममा भने त्यही कथा रहेको अनुमान गर्ने बल ट्रेलरले दिन्छ । 

अर्को यसको बजारलाई प्रभावित गर्ने खेलाडी हो, ‘टाइगर ३’ । ‘दिमाग खराब’ भन्दा दुई दिनपछि रिलिज हुन लागेको यो फिल्मले भारतमा पहिलो दिननै ६०–७० करोडको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । सलमान खान र कट्रिना कैफको मुख्य भूमिका रहेको फिल्ममा शाहरुख खान, ऋतिक रोशन आदिको केमियो रहेको चर्चाले यसको प्रतीक्षा बढाएको छ । समग्रमा यी सबै चुनौती पार गर्न सके निश्चल बस्नेतले ‘लुट २’बाट गुमाएको साख फर्काउन सक्नेछन् । नत्र भने उनले अर्को फिल्मको प्रतीक्षा गर्नुपर्नेछ । 


 


Author

थप समाचार
x