सिनेमा

खुल्न सकेनन् कोरोनामा बन्द भएका फिल्म हल

इकागज |
कात्तिक २०, २०८० सोमबार १३:५९ बजे

कटारी : कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिजमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पर्थ्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गर्थ्यो ।

करिब तीनदशक यो हलले यस क्षेत्रमा निरन्तर मनोरञ्जन दिलाएको थियो । पछिल्लो समय कोभिड– १९ को सङ्क्रमणका कारण हल बन्द गर्नुपर्ने अवस्था आएपछि बन्द रहेको यो हल सञ्चालनमा आउन सकेको छैन । लामो समय कोरोनाका कारण बन्द भएपछि हल सञ्चालन गर्न नसकिएको हलका व्यवस्थापक उमेश कटुवालले बताए ।


कोरोना सकिएपछि प्रेमगीत ३ चलचित्र प्रदर्शन गरे पनि हल मर्मत गर्नुपर्ने अवस्था आएकाले पुनःसञ्चालन गर्न नसकिएको उनको भनाइ छ । हल मर्मत गर्न आवश्यक रकमको अभावमा सञ्चालनमा ल्याउन नसकिएको उनले बताए । हल सञ्चालक प्रयास कार्की हलमा थप लगानी गर्ने सोचमा छैनन् । 'पाँच सात लाख रुपैयाँ लगानी गरेर नाफा आउने अवस्था छैन्', कार्की भन्छन्, 'एक्लो प्रयासले लगानी गर्दा अब हलबाट नाफा कमाउन सकिँदैन ।'

 कटारीको मात्रै होइन जिल्ला सदरमुकाम गाइघाटमा पनि अहिले हल चल्न नसकेको लामो समय भयो । कोरोनाकालसम्म जेनतेन चलेको गाइघाटको फिल्म हल पनि त्यसपछि सञ्चालनमा आउन सकेको छैन । गाइघाटमा पनि तीन दशकअघिको शुभलक्ष्मी हल अहिले जिर्ण अवस्थामा पुगिसकेको छ । शुभलक्ष्मी हल कमजोर बनेको भन्दै गाइघाटमा खुलेको बाबारानी हल पनि कोरोनाअघिदेखि नै बन्द छ ।

बाबारानीले हल हटाएर त्यस ठाउँमा अन्य व्यवसाय सुरु गरिसकेको छ । बाँकी एकमात्र शुभलक्ष्मी हलमा पनि लगानी गर्न नसकिने अवस्थामा पुगेको सञ्चालक जगदिश साह बताउँछन् । 'लगानी गरेर के गर्ने हिन्दी फिल्म चलाउन महँगो पर्छ, नेपाली फिल्मले लगानी पनि उठाउँदैन', उदयपुरका कलाकार मिथुन ठाकुर भन्छन् 'जिल्लामा राम्रो हल नहुँदा मनोरञ्जन क्षेत्र अगाडि बढ्न सकेको छैन् ।'

 जिल्लाको पूर्वी क्षेत्रमा अहिलेसम्म कुनै हल नै सञ्चालनमा आउन सकेको छैन । पछिल्लो समय प्रविधिका कारण मोबाइलबाट नै मनोरञ्जन प्राप्त हुनेहुँदा हलमा लगानी गर्नसक्ने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।

-रासस

 

 

 

 


Author

थप समाचार
x