सिनेमा

‘फर्की फर्की’ का निर्माताले लगाएको आरोपप्रति सुत्र मिडियाद्वारा आपत्ति

इकागज |
जेठ १२, २०८१ शनिबार २०:१५ बजे

काठमाडौँ- फिल्म समीक्षा प्रकाशन गरेको भन्दै चलचित्र ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले सुत्रन्यूजका प्रकाशक केशव खड्कालाई धम्की दिँदै गालीगलौज गरेको भन्दै मिडियाले आपत्ति जनाएको छ । 

सुत्रन्यूजकर्मी अनिल यादवले शुक्रबार लेखेको फिल्म समीक्षा प्रकाशन भएपछि फिल्मका निर्देशक अधिकारीले धम्की दिएको भन्दै शनिबार विज्ञप्ति जारी गर्दै मिडियाले आपत्ति जनाएको हो । नेपाली फिल्म ‘फर्की फर्की’ माथि ‘कमजोर पटकथाका भरमा फर्किए अनमोल, फर्किएला त स्टारडम ?’ शीर्षकमा फिल्म समीक्षा प्रकाशन भएपछि निर्माता अधिकारीले अश्लील र अमर्यादित भाषाको प्रयोग गर्दै धम्की र गालीगलौज गरेको र सामाजिक सञ्जालमा ‘बार्गेनिङ’ गरेको अफवाह फैलाउँदै मानहानी गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


यस्तै अपरिचित व्यक्तिहरूले मेसेञ्जरमार्फत बारम्बार भौतिक आक्रमण गर्नेसम्मको धम्की दिइरहेका जनाइएको छ । उक्त विज्ञप्तिमा समीक्षा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने जस्ता कानुनी प्रावधान हुँदाहुँदै धम्की दिने र फिल्मको समीक्षा रोक्ने प्रयत्न गर्ने जस्ता कार्यप्रति सूत्र मिडियाले कडा भाषामा निन्दा र भर्त्सना गरेको छ ।

यस घटनाबारे चलचित्र पत्रकार संघ नेपालले समेत विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा भनिएको छ, ‘लेखेको समाचारमा चित्त नबुझे कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै गालीगलौज गर्नु प्रेस स्वतन्त्रताको विरोधी कार्य भएको संघको ठहर छ, यस विषयमा सम्बन्धित सरोकारवालाको ध्यान आकर्ष गराउन चाहन्छौँ ।’

 

 

 

 

 

 


Author

थप समाचार
x