सिनेमा

नयाँ कोसेढुंगा

ट्रान्स स्टोरीमा आधारित नेपाली चलचित्र ‘गुन्यो चोलो’ को रिलिज डेट सार्वजनिक

इकागज |
असार २७, २०८१ बिहीबार १४:४५ बजे

काठमाडौँ- अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यो चोलो- कमिङ अफ एज अफ अ गर्ल’ को रिलिज डेट लक भएको छ । निर्माण टिमले नाजिर फिचर्ड भएको एक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट फिक्स गरेको हो । समुन्द्र भट्ट निर्देशित फिल्म अब भने कार्तिक ९ अर्थात अक्टोबर २५ बाट देशभर एकसाथ प्रदर्शन हुनेछ ।

सार्वजनिक पोस्टरमा नाजिर पहेँलो रङ्गको वान पिसमा तेश्रोलिङ्गी महिलाको भेषमा देखिएका छन भने उनले देब्रे हातमा विग(नक्कली कपाल) बोकेका छन् भने अर्को दाहिने हातमा हिल्स बोकेका छन् । उनको अनुहारमा चोटको निशान छ । उक्त चोटको निशानले नाजिरको पीडा देखाउँछ । नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरका अनुसार फिल्ममा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ । हुन त फिल्मको यसअघि ‘गुलाबी’ नै राखिएको थियो पछि निर्माण टिमले ‘गुन्यो चोलो’ नाम दिएका हुन् ।


फिल्ममा निर्देशक भट्टले गरेको मेहेनत पनि कम छैन । उनले फिल्मको पटकथा निर्माण र अनुसन्धानमा लैङ्गिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘निलहिरा समाज’ र ‘मितिनि नेपाल’ संग पनि परामर्श गरेकी थिइन् । धेरै खोज र अनुसन्धानपछि उनले यस फिल्ममा आफ्नो ज्यान भरेकी हुन् ।

अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको फिल्मले पारलैंङ्गिकताकाे कथालाई उठान गरेको छ । फिल्ममा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, निशा बजगाईं, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

फिल्मको थिम मात्र नभएर प्रोडक्सन पनि ए-वान छ । फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनकाे काम बाहिर गरिएको हो । फिल्मको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ । फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् ।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित फिल्म नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । फिल्ममा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन । भने अनुपम श्रेष्ठ फिल्मका सहयोगी निर्माता हुन् ।

अलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोडक्सन डिजाइन र सुरक्षा भट्टराईको मिडिया कोअर्डिनेशन रहेको छ । फिल्ममा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रियटिभ हेडमा छन् ।


Author

थप समाचार
x