सिनेमा

तेल भिसाको छायांकन ३५ दिनमा प्याकअप

इकागज |
साउन ६, २०८१ आइतबार ११:३४ बजे

काठमाडौँ - शंकर घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा तेल भिसाको छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको सिनेमाको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो ।

सिनेमाको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल समेत उपस्थित थिइन् । उनले चितवनको भरतपुरमा सिनेमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना समेत दिएकी थिइन् । यस्तै, सिनेमाले उठाएको विषयवस्तु गहन भएकाले आफू यो सिनेमा हेर्न समेत उत्सुक भएको बताइन् ।


यो सिनेमाबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका सिनेमा निर्माण तथा निर्देशन गरेका थिए । यो सिनेमामा अभिनेता विपिन कार्की पहिलो पटक दोहोरो भुमिकामा देखिएका छन् ।

सिनेमामा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।


Author

थप समाचार
x