सक्किगोनी’ टिमको नयाँ प्रोजेक्ट: ‘लाज शरणम्’ फिल्म निर्माणको औपचारिक घोषणा
काठमाडौं - चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले नयाँ फिल्म ‘लाज शरणम्’ को निर्माण औपचारिक रूपमा घोषणा गरेको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरिएको हो।
कुमार कट्टेल ‘जिग्री’ को जन्मदिनको अवसर पारेर गरिएको कार्यक्रममा ‘लाज शरणम्’ फिल्मको बारेमा विस्तृत जानकारी दिइयो। टेलिश्रृंखला निर्माणमा १० वर्ष बिताइसकेपछि, ‘सक्किगोनी’ टिमले यो नयाँ फिल्म प्रोजेक्टमार्फत फिल्म निर्माणमा आफ्नो पाइला चाल्ने निर्णय गरेको छ।
फिल्मको निर्देशन कुमार कट्टेलले गर्नेछन् । ‘सक्किगोनी’ टिमबाट सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’ र कमलमणि नेपालको अभिनय रहने तय भएको छ। साथसाथै, विजय बराल, माला लिम्बु, देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। पुराना अभिनेता मुकुन्द श्रेष्ठले यस फिल्मबाट पुनरागमन गर्नेछन्। अन्य केही कलाकारहरूको छनोट प्रक्रिया चलिरहेको जानकारी निर्माण टिमले दिएको छ।
फिल्मको छायांकन भदौ तेस्रो साताबाट सुरु हुनेछ र फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने योजना छ। निर्देशक कुमार कट्टेलले जिम्मेवार भएर उत्कृष्ट फिल्म निर्माणमा आफ्नो सम्पूर्ण प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
फिल्मको निर्मातामा नवीन श्रेष्ठ र सह-निर्माताको रुपमा राम नरेश शाह रहेका छन्। घोषणा कार्यक्रममा बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो।
‘सक्किगोनी’ टिमले टेलिश्रृंखला निर्माणमा पाएको सफलतालाई फिल्म निर्माणमा पनि दोहोर्याउने अपेक्षा गरिएको छ। ‘लाज शरणम्’ले दर्शकको मन जित्न सक्ने विश्वास लिइएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया