सिनेमा

'लाज शरणम'मा हाँस्य कलाकारहरूको जमघट, भदौदेखि छायांकन

इकागज |
साउन २४, २०८१ बिहीबार १३:३९ बजे

काठमाडौँ - 'लाज शरणम्' चलचित्र निर्माण टिमले चलचित्रमा अभिनय गर्ने कलाकारहरूको नाम सार्वजनिक गरेको छ । सामाजिक सञ्‍जाल फेसबुक पेजमार्फत निर्माण पक्षले नाम सार्वजनिक गरेको हो । 

चलचित्रमा कमलमणि नेपाल, माला लिम्बु, सागर लम्साल, विजय बराल र मुकुन्द श्रेष्ठको अभिनय रहनेछ । अन्य कलाकारहरूलाई पनि फिल्ममा ल्याउने तयारी भइरहेको निर्माण पक्षको दाबी छ । 


जेपीटी क्रिएसनका निर्देशन कुमार कट्टेलले यी कलाकारहरू लाज शरणममा हुने इकागजलाई जानकारी दिए । भदौको तेस्रो सातादेखि छायांकन सुरु हुने यो फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याउने योजना छ। 

चर्चित हाँस्य टिभी सिरियल 'सक्किगोनि' टिमले 'लाज शरणम्' निर्माण गर्न लागेको हो । चलचित्र कुमारले निर्देशन गर्नेछन् । कथा पनि उनी स्वयंले लेखेका छन् । नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रूपमा रहनेछन् ।

लाज शरणममा मा अभिनय गर्ने कलाकारहरू को को छन् ?

मुकुन्द श्रेष्ठ 
लोकप्रिय अभिनेता मुकुन्द श्रेष्ठ भिलेनका रुपमा परिचित छन् । उनले चलचित्रमा नकारात्मक भूमिकामा अभिनय गर्छन् । उनले लामो समयपछि फिल्ममा पुनरागमन गर्न लागेका छन्। एक दशकको अन्तरालपछि उनी लाज शरणम् फिल्ममा शीर्ष भूमिकामा देखिन लागेका हुन् । मुकुन्द श्रेष्ठले 'देउता', 'अर्जुन', 'कस्तो साइनो', 'सन्तानको माया', 'धड्कन', र 'सपना' जस्ता थुप्रै चर्चित फिल्महरूमा अभिनय गरेका छन् । उनले पछिल्लो पटक 'कोहिनुर' फिल्ममा काम गरेका थिए भने डेढ वर्षअघि 'मेरी बास्सै' सिरियलको केही 'एपिसोड' पनि देखिएका थिए।

माला लिम्बु 
माला लिम्बु म्युजिक भिडियोबाट उदाएकी कलाकार हुन् । उनको चर्चित म्युजिक भिडियो 'काले दाइ' लोकप्रिय मानिन्छ । 'नक्कली नानी', 'झकास झापाली', 'ए झरी' उनको चर्चित म्युजिक भिडियोहरू हुन् । उनले अहिलेसम्म पाँच वटा फिल्ममा अभिनय गरेकी छिन् । 'दुबई काठमाडौँ' , 'वाइ वे', 'पुरानो बुलेट' र 'पर्व'लयागत फिल्ममा उनको अभिनय छ । उनले ५० भन्दा बढी म्युजिक भिडियोहरूमा अभिनय र डान्स गरेकी छिन् । धरान निवासी माला काठमाडौँको धापासीमा बस्छिन् । उनलाई पेन्टिङमा पनि शौख छ ।

 विजय बराल 
नेपाली चलचित्रमा आफ्नो कामका लागि परिचित अभिनेता र कवि हुन् विजय बराल । उनी थिएटरबाट आएका कलाकार हुन् । उनले सन् २०१४ मा 'कबड्डी' फिल्मबाट डेब्यु गरेका थिए । उनी प्रायः मण्डला थिएटरमा नाटकहरूमा अभिनयमा देखिन्छन् । 'अचेल हेर्नु भयो त' भन्दै मण्डलाको पेजमा बराल छाएका छन् । उनकाे अभिनयको यात्रा मण्डला थिएटरबाट  सुरु भएको हाे । उनले 'कबड्डी कबड्डी', जारी, झुम्कीलगायत धेरै फिल्ममा अभिनय गरेका छन् । उनको अभिनय दर्शकको मन मुटुमा बस्न सफल भएको छ । दर्शकलाई हँसाउने र रुवाउने दुवै अभिनय उनको दमदार छ ।

सागर लम्साल 
स्याङ्जा घर भएका सागर कला क्षेत्रमा निकै चर्चित नाम हो । उनले संगीत तथा नाट्य क्षेत्रमा समर्पित रही योगदान पुर्‍याएका छन् । उनी 'बले' नामले परिचित छन् । सागरले 'बले' पात्रको रुपमा भद्रगोलको १८औं श्रृङ्खलामा प्रवेश गरेका थिए । उनले भद्रगोलको १८ र १९ भाग खेले र बाँकी चार भाग खेलेनन् । तर उनलाई ठूलो पर्दामा भन्दा धेरै राम्रो 'रेस्पोन्स' भद्रगोलबाट मिल्यो । चार भागपछि उनी फेरि २४औं भागमा “साङ्लो बोरो तपाईंको कपाल चै हो के” भने वाक्यसँगै प्रवेश गरे । जस पश्चात उनलाई दर्शकले चिन्‍न थाले । भद्रगोल र सक्किगोनि टेलिश्रृङ्खलाबाट चर्चा कमाएका उनले अहिले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

कमलमणि नेपाल
कमलमणि नेपाललाई 'खुपीका बा' भन्नासाथ सबैले चिन्छन् । उनी कक्रोचका बाउका नामले पनि परिचित छन् ।  कमलमणिले सक्किगोनिमा निर्वाह गरेकाे खुपीका बा क्यारेक्टर दर्शकहरूले निकै मन पराएका छन् । उनले टेलिफिल्म बाहेक फिल्महरूमा पनि अभिनय गरेका छन् ।  'कबड्डी ४', 'छड्के २' र बहाव आदिमा उनले अभिनय गरेका  छन् ।  'कबड्डी ४ उनको चर्चित फिल्म हो भने 'छड्के २' उनकाे फ्लप फिल्म हो । उनले सफलताको सुख र असफलताको दुख अनुभव गरेका छन् । 

अर्जुन घिमिरे

अर्जुन घिमिरेलाई उनको नामले कमैले चिन्छन् । तर पाँडे भन्नासाथ सबैले चिन्छन् ।  उनले हिजो आजका कुराबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन्। पाँडे अर्जुनले सक्किगोनिमा निर्वाह गरेकाे एउटा क्यारेक्टर हाे । जसलाई दर्शकहरूले निकै मन पराएका छन् । पाँडे भन्नासाथ सबैकाे दिमागमा चुस्स सेतो दाह्री पालेकाे, बाक्लो टाेपी लगाएकाे, निलाे गलबन्दी ओढेको छुच्चाे क्यारेक्टरको याद आउँछ । जाे मान्छे भँडुवा, अल्छीको रुपमा परिचित छ । 

 फिल्म बनाउन सजिलो छैन । कथावस्तु कमजोर हुँदा सारा फिल्म नै कमजोर बन्न पुग्छ । तर सानो सन्देश र चोटिलो संवादले सुन्दर कथा बन्न सक्छ । त्यसको उदाहरण हो सिरियल सक्किगोनि । जसले निकै लोकप्रियता कमाएको छ । दर्शकको मन मुटुमा बस्न सफल भएको छ । सक्किगोनि जस्तै लाज शरणम् चलचित्रले दर्शकको माया पाउँला या नपाउँला त्यो कथाक्रमले देखाउनेछ । 

र, यो पनि

- सक्किगोनी’ टिमको नयाँ प्रोजेक्ट: ‘लाज शरणम्’ फिल्म निर्माणको औपचारिक घोषणा

मुकुन्द श्रेष्ठको धमाकेदार कमब्याक: 'लाज शरणम्' फिल्ममा मुख्य भूमिका


Author

थप समाचार
x