सिनेमा

विपद्‌पछि चलचित्र 'आँखा'को  प्रदर्शन स्थगित

इकागज |
असोज १४, २०८१ सोमबार १०:५८ बजे

काठमाडौँ- असोज ११ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र 'आँखा' हाललाई स्थगित गरिएको छ ।

हालै बाढी पहिरोका कारण आवतजावतमा समस्या भएकाले प्रदर्शन स्थगित गरेको आर आर फिल्मस्‌का वितरक तथा निर्देशक जौन योञ्जनले जानकारी दिएका छन् ।


'आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई चलचित्र 'आँखा'लाई केहि समयको लागि प्रदर्शन स्थगित गरेका छौँ' योञ्जनले जारी विज्ञप्तिमा भनेका छन् ।

सहज वातावरण भएपछि पुन: प्रदर्शन हुने उनले जानकारी दिए ।

 फिल्मले समाजको धनी-गरिबबीचको विभेद, सुकुम्बासीहरूको संघर्ष र उनीहरूको सपनालाई पर्दामा उतारेको छ। फिल्मले गरिब परिवारले दैनिक जीवनमा भोग्नुपरेका आर्थिक, सामाजिक र मानसिक चुनौतीलाई सजीव रूपमा प्रस्तुत गरेको छ ।

फिल्ममा स्मीता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, विजय बराल, प्रविण खातिवडा, राजन खातिवडा, अभयराज बराल, लूनिभा तुलाधर, कृष्णभक्त महर्जन, रवीन्द्र झा र बाल कलाकार प्रशन राईको उत्कृष्ट अभिनय रहेको छ ।

फिल्मको लेखन, पटकथा, सम्पादन र निर्देशन स्वयम् जोन योञ्जनले गरेका छन्। आलोक शुक्लाको छायांकनले फिल्मका दृश्यलाई जीवन्त बनाएको छ भने दीपक आरजे र जयन जे वाइबाको संगीतले फिल्मलाई भावनात्मक रूपमा झन् सशक्त बनाएको छ।

फिल्म ‘आँखा’लाई ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट, र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिएको हो। कार्यकारी निर्माता नारायण प्रसाद बरालको नेतृत्वमा निर्माण भएको यस फिल्मको लाइन निर्माता राम बस्नेत र सह-निर्मात्री रेणुका कार्की ढोलीले फिल्मलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

सुकुम्बासी बस्तीको कठोर जीवनयात्रा, गरिब परिवारको संघर्ष, र समाजसँगको द्वन्द्वलाई बडो मर्मस्पर्शी ढंगले पर्दामा प्रस्तुत गर्ने यस फिल्मले नेपाली समाजको यथार्थलाई उजागर गरेको छ।

‘आँखा’ हेरेर तपाईंले सुकुम्बासीहरूको आँसु र संघर्षको वास्तविकता बुझ्ने मात्र होइन, तपाईंको मनमा रहेको सामाजिक चेतना पनि जगाउने विश्वास लिइएको छ।

 


Author

थप समाचार
x