सिनेमा

नायिका शुभेच्छा थापाको नयाँ अवतार

इकागज |
मंसिर ६, २०८१ बिहीबार १२:४५ बजे

काठमाडौं- शुभेच्छा थापा, नेपाली चलचित्रप्रेमी दर्शकको मन मनमा बस्न सफल नाम हो । नेपाली चलचित्र क्षेत्रमा लामो समय योगदान पुर्याएको नाम पनि हो । अहिले तीनै शुभेच्छा थापा शुभांगी राधादेवी दासी भएकी छन्।

चार वर्षअघिसम्म आफ्ना सुभचिन्तक, दर्शक, फ्यानहरुको भिड लाग्ला भनेर माक्स, चस्मा र आफ्नै सवारी साधनको प्रयोग गरेर हिँड्ने चर्चित नायिका शुभेच्छा अहिले निधारमा चन्दन, घाँडीमा टन्न बेरिएका तुलसीका माला र साधु भेषमा सडकमा एक्लै निर्धक्क हिँडेको देखिन्छ ।


कुनै बेला मान्छेसँगै भाग्ने उनी अहिले बाटोमा हिँड्ने, व्यापार गर्ने र मागेर हिँड्ने मानिसको भावना बुझ्न र नियाल्न खोज्छिन् । हरेकसँग कुरा गरेर उनीहरुको मनको कुरा सुन्न चाहन्छिन् । उनी हरेक मानिसको सेवा गर्न पाए आनन्दित हुन्छिन् ।

टेलिचलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी शुवेच्छा २०६२ सालमा ठूलो पर्दामा प्रवेश गरिन् । उनले गरेको पहिलो चलचित्र ध्रुवतारा हो भने अग्नीज्वाला, क्रोध लगायतका थुप्रै चलचित्र खेलेकी छन् । शुभेच्छाले आफैंले पनि २०६८ सालमा को हुँ म भन्ने चलचित्र बनाइन भने २०७० सालमा मिस नेपाल र त्यसपछि मखमली, निर्जलालगायतका चलचित्र समेत निर्माण गरेकी छन् ।

यसरी लामो समय नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याएकी शुभेच्छा विगत ४ वर्षदेखि वैद्धिकसनातन धर्म अर्थात स्कोनमा आबद्ध छिन्। उनी उनी पूर्ण रुपमा आफू अध्यात्म र भगवानको भक्तिमा लागेको बताउँछिन् । उनी तीन वर्षे संस्कृतमा डिप्लोमा गरेर स्कोनमा दिक्षित समेत बनिसकेकी छन् । अहिले उनी शुभेच्छाबाट शुभांगी राधादेवी दासी भएकी छन्।

कसरी आबद्ध भइन् स्कोनमा?

चलचित्र क्षेत्रमा चर्चित अवस्थामा रहेकी शुभेच्छा सन्तुष्ट भने कहिल्यै भइनन् । नाम, दाम, परिवार, सबै पूर्ण भइरहँदा पनि उनलाई सँधै केही न केही कुराको कमी भएको महशुस भइनै रहन्थ्यो । उनी सोच्न थालिन आखिर के कुराको कमी भैरहेको छ म मा ?, म जन्मनुको उद्देश्य के हो ? के म सँधै यही क्षेत्रमा यही स्थानमा रहन्छु त?, म यही स्थानमा नभएको दिन के म फेरि सामान्य जीवनमा फर्किएर सामान्य जीवनयापन गर्न सकुँला ? यस्तै यस्तै प्रश्नले उनलाई सताउन थाल्यो । र लामो समयको सोचाइपछि उनी निर्णयमा पुगिन् कि म मा कमी भगवानको भक्तिको हो । र स्कोनमा आबद्ध भइन् । उनले बिस्तारै माछामासु, लसुन प्याज लगायतका अशुद्ध मानिने तत्वहरु त्याग गरिन्, आफूले खान छोडेको एक वर्षसम्म परिवारलाई पकाएर खुवाए पनि अहिले उनी यी कुरा बनाउने, छुने, बनाएको भाडा माझ्ने लगायतका काम समेत गर्दिनन्। उनले स्कोनमा तीन वर्षे संस्कृत डिप्लोमा गरिन् । अहिले उनी स्कोनमा दिक्षित समेत बनिसकेकी छन् ।

लामो समय चलचित्र क्षेत्रमा रमाएकी शुभेच्छा अहिले भक्तजनको सेवा, भगवानको भक्ति नै संसारको सबैभन्दा ठूलो सुख र आनन्द भएको बताउँछिन् । आफू नायिका हुँदा भन्दा भगवानको भक्त हुँदा बढी गर्व महशुुस हुने गरेको उनको भनाइ छ । शुभेच्छा आफ्नो नायिका हुँदाको अवस्था र अहिलको अवस्थालाई अर्को जन्मको रुपमा लिएको समेत बताउँछिन् ।

अध्यात्ममा आबद्ध भएपछि मानिसमा शालिनता आउने, झुक्क जान्ने, अरुका कुरा सही लाग्ने, बरु गलत म नै हुँ भन्ने सोचाइ आउने हुँदा अहिले आफ्नो परिवारमा, श्रीमानसँग पनि सामान्य विवाद समेत नहुने गरेको बताउँछिन् ।

उनले अहिलेको आफ्नो भेष अर्थात तिलक र तुलसीको कण्ठीको बारेमा बोल्दै भनिन्, ‘सर्वप्रथम त तिलकले आफ्नो सम्प्रदाय चिनाउँछ । हामी कुन सम्प्रदायको हो भन्ने कुरा हाम्रो तिलकबाट थाहा हुन्छ । त्यसैगरी तिलक भगवानको चरण भएकाले हामीले सँधै भगवानको चरणलाई आफ्नो निधारमा पार्नुपर्ने, आर्शिवाद लिनुपर्ने मान्यताले पनि तिलक ग्रहण गर्छौँ। त्यस्तै यो तुलसीको कण्ठी हेर्दा कुकुरलाई बाँध्ने पट्टी जस्तो देखिन्छ। म यसलाई स्वीकार गर्छु की हामी भगवानको लागि बफादार कुकुर नै हौँ र हुनुपर्छ । अर्को कुरा हामी बाहिर हिँड्डुल गर्नुपर्ने हुन्छ ।  जहाँपनि शुद्ध खानेकुरा नहुन सक्छ। हामीले अरुले बनाएका खानेकुरा खाँदा अशुद्ध भएपनि यो कण्ठीले शुद्ध बनाउने काम गर्छ । त्यसैले तुलसीको कण्ठी हाम्रो पहिलो सस्त्रअस्त्र हो र यो हामी तुलसीको कण्ठी सँधै बाँध्छौँ । साथै तुलसी माताको आर्शिवाद बिना हामी भगवानको आर्शिवाद पाउन नसक्ने भएकाले पनि भगवानको आर्शिवाद प्राप्त गर्न तुलसीको कण्ठ धारण गर्नुपर्छ।’

शुुभेच्छाले आफू अध्यात्म, धर्मकर्ममा लागेपनि पर्दामा समेत देख्न सकिने बताएकी छन्। गुरुले कर्मलाई पनि सँगै अगाडी बढाउनुपर्छ भन्ने आदेश दिएकाले आफूले कर्मलाई चटक्कै नछोड्ने बताइन्। तर आफूले लामो समय कर्ममा बिताइसकेकाले अब पूर्ण रुपमा आध्यात्ममा लाग्ने बताएकी छन् ।


Author

थप समाचार
x