जमानतमा रिहा भए अल्लू अर्जुन
फाइल फोटो
दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अन्तरिम जमानतमा रिहा भएका छन्।
शुक्रबार साँझ तेलांगना उच्च अदालतले अल्लूलाई अन्तरिम जमानतमा रिहा गरेको हो। उनको पक्राउपछि हैदरावादको चिक्कडपल्ली प्रहरी कार्यालयमा जम्मा भएका ठूलो भिडले रिहाइसँगै उत्सव मनाएका छन्।
शुक्रबार दिउँसो चिक्कडपल्ली प्रहरीले अल्लूलाई जुबली हिलस्थित उनकै घरबाट पक्राउ गरी हैदारावाद अदालतमा पेस गरेको थियो।
अल्लू अभिनीत 'पुष्पा २: द रूल' चलचित्रको प्रिमियर सोको क्रममा डिसेम्बर ४ मा सन्ध्या थियएटरमा ठूलो भिड जम्मा भएपछि भागदौड मच्चिएको थियो।
भागदौडमा ३५ वर्षीया महिलाको मृत्यु र उनका ९ वर्षीय छोरा घाइते भएका थिए। मृतकका आफन्तले अभिनेता अल्लूविरूद्ध पनि जाहेरी दिएपछि शुक्रबार प्रहरीले उनलाई घरबाटै पक्राउ गरेर चिक्कडपल्ली प्रहरी कार्यालय पुर्याएको थियो।
हैदरावादको अदालतले उनलाई १४ दिन न्यायिक हिरासतमा पठाउने निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध अल्लूले तेलांगना उच्च अदालतमा निवेदन दिएका थिए।
तेलांगना उच्च अदालतले तल्लो अदालतको आदेश बदर गर्दै अल्लूलाई अन्तरिम जमानतमा रिहा गर्न भनेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ।
तल्लो अदालतको निर्णय उच्चले उल्ट्याएपछि अल्लू र उनका समर्थकहरूले राहत महशुस गरेको सन्देशहरू सामाजिक सञ्जालमा प्रवाह भएको छ।
उच्च अदालतले अल्लूलाई जमानत दिँदा सन्ध्या थियटरको घटनामा व्यक्तिगत रूपमा अल्लूमात्रै दोषी नहुने भनेको छ। प्रिमियर शोभन्दा एक दिन अगाडि आफूपनि उक्त थियटरमा पुगेको र व्यवस्थापकहरूलाई सुरक्षा बढाउन र प्रहरीलाई पनि सुरक्षा व्यवस्थाका मिलाउन आग्रह गरेको अल्लू आफैले भनेका थिए।
तर प्रिमियर शो को समयमा कम संख्यामा प्रहरी उपस्थित भएको र प्रहरीले लाठीचार्ज गरेपछि भागदौड मच्चिएको बयान अल्लूले दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
अल्लूको बयानपछि उच्च अदालतका न्यायाधीशले अल्लू एक कलाकार भएको र कलाकार उपस्थित भएको स्थानमा हुने घटनाहरूमा कलाकारमात्रै दोषी नहुने भनेका छन्।
साथै अल्लूले पनि स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार हुने र त्यो अधिकारको प्रत्याभूति दिलाउँदै केही समयका लागि जमानत दिइएको न्यायाधीले बताएका छन्।
अल्लू पक्राउको घटना र उनलाई न्यायिक हिरासतमा पठाउने अदालतको निर्णयपछि भारतका राजनीतिज्ञदेखि कलाकारहरूले समेत सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया