यादव भट्टराई निर्देशित फिल्म झिल्कोको प्रदर्शन मिति सर्यो
नेपाली चलचित्र ‘झिल्को‘को को प्रदर्शन मिति सरेको छ । चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको जानकारी दिए । यसअघि चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन मिति घोषणा गरिएको थियो ।
फिल्मको केही दृष्य छायांकन बाँकी रहेकोमा उक्त छायांकन गत आइतबार सम्पन्न भएको निर्देशक भट्टराईले जानकारी दिए । अब पोस्ट प्रोडक्सनमा थप केही काम गर्ने तयारीका साथ मिति सारिएको उनले बताए ।
‘पोस्ट प्रोडक्सनमा समय लगाएर मजैले काम गर्ने उद्देश्यका साथ प्रदर्शन मिति धकेलेका हौँ,‘ उनले बताए । झोला र भोरपछि यो उनको तेस्रो निर्देशकीय फिचर हो । चलचित्रमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल प्रमुख कलाकारका रूपमा रहेका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको निर्माण टिमले जानकारी दिएको छ । ‘
बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुर्व्यसनी डिजिटल दुर्व्यसनी हो। यही संवेदनशील विषय झिल्कोको कथा हो,‘ निर्देशक भट्टराईले भने, ‘यो एक व्यवसायिक र बाल मनोविज्ञानमा आधारित पारिवारिक चलचित्र हो ।‘ फिल्मको ९० प्रतिशत दृष्य छायांकन गत वर्ष चैतमा सकिएको थियो ।
केही दृष्य फरक अन्तर राखेर हालै खिचिएको निर्देशक भट्टराईले बताए । सती प्रथाको कथामा ‘झोला‘ फिल्म निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी फिल्म ‘भोर‘ बनाएका थिए। ‘झिल्को‘ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्।
फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ। निमेश श्रेष्ठले फिल्मलाई सम्पादन गरेका हुन्। मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा फिल्म बनेको हो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया