सिनेमा

४५ लाख ठगीमा ‘पोई पर्‍यो काले’का निर्देशक शिशिर राणा पक्राउ

इकागज |
असार २१, २०७८ सोमबार १८:४ बजे

ललितपुर : ‘पोई पर्‍यो काले’ फिल्मका निर्देशक शिशिर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । उनलाई चेक बाउन्सको मुद्दामा पक्राउ गरिएको सिआईबी प्रहरी उपरिक्षक श्यामकुमार महत्तोले जानकारी गराएका छन् ।

उनलाई काठमाडौंको बिजुलीबजारबाट प्रकाउ गरिएको हो । राणाले साम्राज्ञीराज्य लक्ष्मी शाह र आकाश श्रेष्ठको जोडीलाई लिएर ‘तिमीसँग’ शीर्षकको फिल्म पनि निर्देशन गरेका छन् । २०७६ सालमा उनले घर व्यवहार चलाउन तथा व्यासायमा लगानी गर्नको लागि पैसा सापटी लिएका थिए । तर उनले पछि पैसा फिर्ता गर्ने समयमा ४५ लाखको चेक दिए तर उक्त चेकमा पर्याप्त रकम थिएन । उनले नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितको नाममा ४५ लाख रुपैयाँको चेक काटी दिएका थिए ।  


मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएको कसुरमा पीडितले उनीमाथि प्रहरी तथा अदालतमा उजुरी दिएका थिए । उच्च अदालत पाटनले २०७७ पुस २६ गतेको उनलाई १० दिनको कैद र ४५ लाख जरिवाना हुने ठहर गरेको थियो । अदालतको सो आदेशअनुरुप उनलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ लगत्तै उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ । 

फिल्ममा प्रडक्सन म्यानेजरसँगै चरित्र अभिनेताको रुपमा दर्जनौं फिल्ममा देखिएका राणा एड फिल्ममेकर पनि हुन् । उनले केही समयअघि मात्र अभिनेता दिक्पाल कार्कीलाई लिएर ‘पोई पर्यो काले’को दोस्रो भाग बनाउने घोषणा गरेका थिए । तर, उनको सो घोषणामा फिल्म निर्माता किरण नेपालीले आपत्ति जनाएपछि त्यो फिल्मको काम अघि बढ्न सकेको छैन ।  


Author

थप समाचार
x