`पहाड´ मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे
काठमाडौं - निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहूर्त गर्दै छायांकन सुरू गरेका छन् ।
आज गोरखा दरबारमा पूजा गरेपछि छायांकन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक घिमिरेले निर्देशन कमब्याक गरेका हुन् ।
उनले फिल्ममा पुराना र दिग्गज कलाकार र प्राविधिकको चयन गरेका छन् । फिल्ममा शिव श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, सुनिल थापा देखिदैंछन् ।
यस्तै, उनले छायाँकारको रुपमा प्रमोद प्रधानलाई नेपाल ल्याएका छन् ।
भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।
उनी तीस वर्षपछि नेपाली फिल्म छायांकन गर्न नेपालमा आएका हुन् ।
फिल्मका लागि रञ्जित गजमेरले संगीत सिर्जना गरेका छन् ।
पछिल्ला केहि फिल्म दर्शकको रुचिमा नपरेपछि निर्देशक घिमिरे यसपटक पुनः बलियो कथा र टिम लिएर दर्शक सामु पुग्दैछन् ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको फिल्मको कथा निर्देशक घिमिरेले नै तयार पारेको हो ।
उनले भने,‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’
यसै फिल्ममार्फत निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरे अभिनेत्री बनेर डेब्यु गर्दैछिन् । उनले अभिनेता मदनकृष्ण श्रेष्ठ र अरुण क्षेत्रीसँग मुहूर्त सट दिएकी थिइन् ।
निर्देशक घिमिरेले छोरीमा देखिएको आत्मविश्वास र कैद भएको दृश्यले आफूमा उत्साह थपेको बताए । उनले छोरीले आफ्नै पेसा फिल्मकर्मलाई रोजेकोमा खुसी व्यक्त गरे । किनकी अन्य पेसाका अभिभावक झैँ उनी छोरीले फिल्ममा काम गरेको हेर्न चाहन्थे ।
ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् ।
फिल्मको छायांकन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुनेछ । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दैछन् ।
यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैंकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।
पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ निर्देशन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया