१३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु: १७ देशका ४९ फिल्म सहभागी

काठमाडौं - कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा यो महोत्सव शुक्रबारबाट आईतबारसम्म जारी रहनेछ ।
यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी छन् । जसमा दुई चलचित्र अप्रतिस्पर्धी र बाँकी ४७ चलचित्र प्रतिस्पर्धी रूपमा छन् ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशेष अतिथिहरु नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीलगायतले महोत्सव उद्घाटन गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामो प्रयासपछि राष्ट्रिय चलचित्र नीति अन्तिम चरणमा पुगेको बताए । उनले धुलिखेलमा इन्डोर चलचित्र छायांकन स्टुडियोको लागि जग्गा प्राप्त हुनुका साथै निर्माण बोलपत्र आह्वान गरिएको पनि जानकारी गराए । महोत्सवलाई सफताको शुभकामना दिँदै अध्यक्ष डिसीले यस्ता अन्तराष्ट्रिय चलचित्र महोत्सवले चलचित्र संस्कृति निर्माणका साथै चलचित्रको प्रवर्धनमा ठूलो मद्दत पुग्ने गरेको भनाई कार्यक्रममा राखे ।
नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलियाले १४ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सव अफ्रिकासँगै विश्वका चलचित्रलाई एकै ठाउँमा ल्याएर चलचित्र संस्कृति आदन प्रदानमा मद्दत गर्दै आएको बताए । यस्ता महोत्सवले चलचित्र पर्यटन प्रवर्धनमा मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले अफ्रिकासँग नेपाललाई चलचित्रबाट जोड्न १४ वर्ष अघिबाट नेपाल अफ्रिका चलचित्र महोत्सव नेपालमा नियमित रूपमा आयोजना गर्दै आएको बताइन् । यो वर्षबाट अफ्रिकाको सँगै अन्य देशका अन्तराष्ट्रिय चलचित्र समेत महोत्सवमा समावेश गरिएको उनले जानकारी गराइन् ।
महोत्सव निर्देशक डब्बु क्षत्रीले अन्तराष्ट्रिय स्तरका चलचित्र महोत्सव गर्न निकै यहाँ कठिन हुने गरे पनि चलचित्र विकास बोर्डको केही सहयोगले महोत्सव गर्न थोरै सहज भएको बताए । यसपटक महोत्सवमा भारत, बंगलादेशलगायतका मुलुकका चलचित्रकर्मी सहभागी भएको पनि उनले जानकारी गराए ।
महोत्सवका उद्घाटन समारोहमा गायक डेभिड शंकर, नेपाल प्रहरीमा अढाई दशकदेखि टेली चलचित्र निर्देशक, लेखक, कलाकारका रुपमा सेवारत बरिष्ठ प्रहरी नायव निरिक्षक सन्तोष लामा, गायकहरु सुरज पौडेल र सुवास महतलाई सम्मानित गरियो ।
महोत्सव उद्घाटन चलचित्रको रुपमा रौनक बिक्रम कँडेल निर्देशित एवम् सिनेमा आर्टस्द्धारा निर्मित चलचित्र द रेड र मोरक्कोको मोहम्मद डबानी निर्देशित अफ्रिकन चलचित्र जैद प्रदर्शन गरियो थियो । महोत्सवमा शनिबार पहिलो दिन चलचित्र छक्का पञ्जा ५, ऐँचो पैँचोसहित एक दर्जन लामा छोटा चलचित्र प्रदर्शन गरियो ।
महोत्सवको अन्तराष्ट्रिय तर्फ १६ देशका १९ चलचित्र छन् । अन्तराष्ट्रिय विधाको निर्णायकमा दक्षिण अफ्रिकाबाट चलचित्र निर्देशक क्याथेरिन सोफियानोस, भारतबाट चलचित्र निर्देशक अंकित बाघ्छी, बँगलादेशबाट चलचित्र निर्देशक साहदत रुसेल र नेपालबाट चलचित्र निर्माता निर्देशक एवम् अभिनेत्री रोशनी केसी, छन् ।
महोत्सवमा नेपालबाट ३० वटा चलचित्र छन् । जसमा ७ वटा फिचर चलचित्र छन् । नेपाली कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे छन् ।
यस्तै नेपालकै २३ वटा लघु चलचित्र, भाषाभाषी चलचित्र, बृत्तचित्र र विधार्थी चलचित्र यो महोत्सवमा सहभागी छन् । लघु चलचित्र, सांगीतिक लघु चलचित्र एवम् बृत्तचित्रको निर्णायकमा अभिनेता सागर लम्साल क्षत्री, दृष्य सम्पादक रविन विक, गायक रुद्रशेखर शर्मा र गायिका सुजाता केसी छन् । निर्णायकहरुले चलचित्र चयन देखि पुरस्कृत चलचित्र एवम् कलाकार प्राविधिकको चयन गर्नेछन् ।
महोत्सवमा यस पटक अन्तराष्ट्रिय तर्फ अफ्रिका समूहको चलचित्रमा दक्षिण अफ्रिकाबाट स्फमण्डला आरोन म्भेला निर्देशित चलचित्र गुड मोदर र सिभिलाईज्ड उवोम्बो निर्देशित चलचित्र लेफ्ट अर राईट अर इन बिट्विन द लाईफ, क्यामरुनबाट टाटा फिडेलिस निर्देशित जेस्पर पनि रहेका छन् ।
अन्तर्राष्ट्रिय समूह तर्फ संयुक्त राज्य अमेरिकाबाट डिलन लाथम निर्देशित चलचित्र विल, फ्रान्सबाट पार्टिस गुईल्लाईन निर्देशित चलचित्र ला डिर डेस डेर, डेनमार्कबाट निर्देशक लार्स बी फ्रहमको चलचित्र रन फर लाइफ, श्रीलंकाबाट वेलुपिल्लै राजेश निर्देशित चलचित्र सगावरम, बंगलादेशबाट फकिर विप्लव निर्देशित चलचित्र सौदा, भारतबाट देवेन्द्र जादव निर्देशित बृत्तचित्र लोनी ट्युन्स रहेको छ । यस्तै पाकिस्तानबाट अहसेन मुराद र फरहाद रियाज निर्देशित चलचित्र अंगार, अफगानिस्तानबाट काजिम अजराम निर्देशित चलचित्र द मस्ट ब्युटिफुल काबुल, स्पेनबाट एलिस भिल्लालोंगा निर्देशित स्टेल, ओमनबाट सुलेमान अलखालिली निर्देशित चलचित्र सुलेमान पनि यो महोत्सवमा अन्तर्राष्ट्रिय समूहमा चयन भएको छ । अन्तर्राष्ट्रिय समूहतर्फ अस्ट्रियाबाट अर्मन विभेस निर्देशित चलचित्र जस्ट अ जिगेलो, क्यानडाबाट मञ्जु सुब्बरवाल निर्देशित चलचित्र कलर, बेलायतबाट एड्रिएना कुलिज निर्देशित चलचित्र लकडाउन गार्डेन डायरी, बेलायतबाटै ओडेट्टे निर्देशित चलचित्र जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन, अर्जेन्टिनाबाट जर्ज क्याराबोटा निर्देशित चलचित्र द टेम्पल फर इन्टरनल साउन्ड रहेको छ ।
महोत्सवमा शनिबार चलचित्र इफेक्ट मेकअपको एक दिवसीय कार्यशाला आयोजना गरिँदैछ । माधव प्रसाद पाण्डे (सरोज)ले ग्लार मेकअप, जलेको मुहार मेकअप, बुढयौली मेकअप, मोटो मुहारलाई दुब्लो बनाउने मेकअप सिकाउँदैछन् । विना रानामगरले हरर फेस मेकअप, सुजन तिमिल्सिनाले मुहार पेन्टिङ (माक्स मेकअप) र महोत्सव सह निर्देशक सरिता भारतीले विभिन्न अबस्थाको घाउ चोटको मेकअप सिकाउँदैछन् । जसमा दुई दर्जन भन्दा बढी मेकअप आर्टिष्ट सहभागी छन् । महोत्सवमा शनिबार पनि दिनभरी करिब डेढ दर्जन नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया