सिनेमा

डेनियल क्रेगले जेम्स बन्डको सबैभन्दा बढी के ‘मिस’ गर्नेछन् ?

इकागज |
असोज १५, २०७८ शुक्रबार ११:३२ बजे

लसएन्जल्स - ब्रिटिश अभिनेता डेनियल क्रेगलाई अब दर्शकले जेम्स बन्ड सिरिजमा देख्ने पाउनेछैनन् । जेम्स बन्डको एमआईसिक्स ब्रिटिश स्पाई एजेन्टको रुपमा १५ वर्ष बिताएका उनको अन्तिम फिल्म ‘नो टाइम टु डाई’ शक्रबारबाट विश्वभर रिलिज भएको छ ।

सुटिङ सकिने बित्तिकै उनले ब्रिटिश स्पाईको रुपमा आफ्नो यो अन्तिम फिल्म हुने घोषणा गरेका थिए । उनको यो घोषणाले क्रेगका फ्यान हुनसम्म दुःखी भएका थिए ।
सन् २००५ मा क्रेगले पूववर्ती बन्ड अभिनेता पियर्स ब्रोसनेनलाई प्रतिस्थापन गर्दा उनले पियर्स ब्रोसनेनका फ्यानबाट विरोध खपेका थिए ।


उनलाई जेम्स बन्ड बन्न नसुहाउने भन्दै ‘बायकट’ अभियान नै चलाएका थिए । तर, बिदा हुँदै गर्दा क्रेगले बन्ड सिरिजलाई पहिलाभन्दा प्रतिष्ठित ठाउँमा पुर्याएर छाडेका छन् । क्रेगको समय बन्ड सिरिजकै इतिहासमा सबैभन्दा बलियो समय मानिएको छ । 

पहिलो फिल्मबाटै क्रेगले ‘बायकट’ गर्नेलाई मुखभरिको जवाफ दिएका थिए । सन् २००६ मा रिलिज भएको ‘क्यासिनो रोयल’बाट उनले समीक्षकबाट दिल खोलेर प्रशंसा पाएका थिए । बन्ड सिरिजलाई व्यापारको त कहिलै पनि चिन्ता छँदै थिएन । अझ तेस्रो फिल्म ‘स्काइफल’लाई त समीक्षकले बन्ड सिरिजको सबैभन्दा उत्कृष्ट संस्करणको रुपमा दर्ज गरेका थिए ।

‘१५ वर्षपछि बन्ड सिरिजमा इतिहास बनाएर बिदा हुँदै गर्दा उनले सबैभन्दा बढी के कुरा ‘मिस’गर्नेछन् ?’ न्युयोर्क टाइम्सका पत्रकारले सोधेको प्रश्नमा क्रेगले ‘फिल्म बनाउने प्रक्रिया’ मिस गर्छु भन्ने उत्तर दिएका छन् । उनले यसलाई व्याख्या गर्दै कुनै पनि फिल्म बनाउन समूहको लगन र मेहनतको ठूलो हात रहने उल्लेख गर्दै आफू त्यो लगनको हिस्सा बनेको कुरा चीरस्मरणीय रहने बताएका थिए । 


Author

थप समाचार
x