सिनेमा

अस्करको ९४औं संस्करणका लागि नेपालको अस्कर कमिटीले माग्यो नेपाली फिल्म

इकागज |
असोज १८, २०७८ सोमबार ९:२४ बजे

काठमाडौँ-  ९४औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ ।

समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १९ गतेदेखि कात्तिक २ (अक्टोबर ५ देखि अक्टोबर १९ सम्म)  गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ ।   द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेसले  सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलस्को डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने जनाएको छ ।


 हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कर अवार्ड कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो । यो वर्ष भने १ महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि अघिल्लो साल केही नियममा पनि परिवर्तन गरेको थियो जुन यो साल पनि निरन्तर रहेका छन् । 

अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, अघिल्लो वर्ष झैं यसपटक पनि महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्कारमा सहभागिता जनाउन पाउनेछन् ।

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ ।  त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी अनलाइन स्थापित व्यवसायिक स्ट्रिमिङ साइट वा भिडियो अन डिमान्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।


Author

थप समाचार
x