राजेश हमालका फ्यानसँग सलोनले मागे माफी
काठमाडौँ - अभिनेता सलोन बस्नेतले राजेश हमालका फ्यानसँग माफी मागेका छन् । उनले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै उनले राजश हमाललाई महानायक नमान्नु सचेत मनको निर्णय नभएको भन्दै आफूलाई माफी दिन दर्शकसँग आग्रह गरेका छन् ।
केही दिनअघि सलोनले आफूले खेलेको फिल्म ‘डाँडाको बरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानायकको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए । योभन्दा अघि भने यही फिल्मको गीत सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी र शिव श्रेष्ठले एक अर्कालाई महानायक र गौरी मल्ललाई महानायिका भनेपछि राजेश हमालका फ्यान भड्किएका थिए । यहाँदेखि सुरु भएको विवाद थाम्दै थामिएको थिएन । सलोनले राजेश हमालका फ्यानबाट निरन्तर साइबर बुलिङ भएको भन्दै माफी माग्ने निर्णय गरेको बताएका छन् ।
‘ कसैलाई एक नम्बर वा दुई नम्बर छुट्याउने मेरो हैसियत छैन र मेरो काम पनि त्यो होइन । म त बल्ल यो क्षेत्रमा अग्रजले देखाएको बाटो हिँडिरहेको थिएँ । तर यो विवादपछि असाध्यै धेरै बुलिङ भयो । त्यही भएर माफी माग्ने निर्णय गरेको हुँ,’ उनले इकागजसँग भने । उनले जनतासँग माफी माग्दै शब्द छनोट गलत भए पनि मनमा सबैप्रति आदर रहेको भन्दै माफी दिन आग्रह गरेका छन् ।
उनले लेखेका छन् ,‘ माफ गरिदिनुस् नेपाली जनता, समय विडम्बनाको थियो । म अल्मलिएका थिएँ र बुझ्न सकिँन । मेरो हुर्काइ यही ठाँउमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ । म बुझ्न सक्ने हुनु भन्दा अगाडि नै एक महान ब्यक्तिले ‘नेपालीबाबु’ नामक सिनेमामार्फत सिनेमा संसार बुझाइ दिनुभयो ।
‘कर्म’ नामक सिनेमामा काम गर्दा आफ्नो बुवा हँुदा हुँदै अर्का महान हस्तिका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाको लागि गरिने त्याग र यसको महत्व बुझाए । जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर, ठूले, आशीर्वाद, हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबैभन्दा सफल अग्रज व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ ।
मेरो पिढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर । मैले सोच्न सकिँन, सायद यही हडबडाहटमा बोल्न पनि जानिन । मेरो अहम, मेरो गर्व , मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकँे, त्यो मुहारलाई १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियत भन्दा धेरै माथिको कुरा लाग्यो ।
शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहान्छु मेरो शब्दले असर पर्न गएकोमा । मैंले आजसम्म जीवनमा सिनेमाबाहेक केही सोच्न वा गर्न सकेको छैन । मेरो सत्य यही हो, मलाई गलत नबनाइ दिनु ।’गत वर्ष पनि निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई महानायक होइन भनेको सुनेपछि फ्यान यसरी नै रिसाएका थिए । उसबेला पनि दीपाश्रीले माफी मागेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया