सहारा शर्माको ‘एक मुठ्ठी बादल’ भारतको को–प्रडक्सन बजारमा
काठमाडौँ- सहारा शर्माको फिल्म ‘एक मुठ्ठी बादल’ भारतको एनएफडीसी को प्रडक्सन बजारमा छानिएको छ । भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन (एनएफडीसी) बुधबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सहारा शर्माको ‘एक मुठ्ठी बादल’ छनौट हुन सफल भएको हो । एनएफडीसीले बुधबार ११ देशबाट २० फिल्म बजारका लागि छानिएको जानकारी गराएको हो ।
गत साल जस्तै एनएफडीसीको को प्रडक्सन मार्केट भर्चुअल हुन लागेको हो । दक्षिण एसियाली विषय समेटिएका कलात्मक फिल्मका लागि निर्माता खोज्न सघाउने बजार भर्चुअल रुपमा आउँदो नोभेम्बरको २० देखि २५ गतेसम्म चल्नेछ ।
नेपालबाट गत साल यही बजारमा पासाङ दावाको ‘कुहिरो पारीको सहर’ छानिएको थियो । यहीँबाट कान्सको बजारसम्म पुगेको फिल्मले यही प्लेटफर्ममार्फत केही लगानीकर्तासँग सहनिर्माणको कुरा अन्तिम चरणमा रहेको निर्माता प्रेमप्रसाद अधिकारीले इकागजलाई जानकारी गराएका थिए ।
सहारा शर्माले निर्देशन गर्न लागेको यो तेस्रो फिल्म हो । पहिलो फिल्म ‘इन्द्रेणी खोज्दै जाँदा’बाट काठमाडौँ माउन्टेन फिल्म फेस्टिभलमा नेपाली पनोरमातर्फको अवार्ड जित्न सफल सहाराले दोस्रो फिल्मको रुपमा ‘बर्दिया सुन्दरी’ बनाएकी थिइन् ।
नेपाली भाषामा बन्ने यो फिल्मलाई अभिमन्यु दीक्षित, ऋचा शर्मा र गौथली इन्टरटेनमेन्ट मिलेर निर्माण गर्नेछन् । निर्मातामध्येएका एक अभिमन्यु दीक्षितले फिल्म बजारबाट को प्रडक्सनका लागि लगानीकर्ता पाउने विश्वास व्यक्त गरे ।
‘सहारा र हामी मिलेर बनाएको ‘बर्दिया सुन्दरी’ पनि यसैको वर्क इन प्रोगेस ल्याबमा गएको थियो । यो बेला हामीले के थाहा पायौँ भने स्क्रिप्टको चरणदेखि नै यता आउन सकियो भने फिल्म बलियो बनाउन देखि लगानीकर्ता भेट्टाउनसम्म पनि सजिलो हुन्छ,’ उनले भने, ‘यही अनुभवका आधारमा हामीले काम गरेका थियौँ । त्यसमा सफल पनि भयौँ भनौँ । अब यहाँबाट लगानीकर्ता भेट्टायो भने फिल्म बनाउन र बेच्न सजिलो हुन्छ ।’
आमाको कठोर अनुशासनमा हुर्किएका दुई छोरीको कथा भन्ने फिल्मले एक रातमा घट्ने घटनालाई प्रस्तुत गर्ने अभिमन्युले जानकारी गराए । ‘आमाको चर्को अनुशासनमा हुकिएका छोरीमध्ये माइली छोरीको टीकाटालोको अघिल्लो रात खुल्दै जाने पारिवारिक घटना र इतिहास फिल्मको विषय हो । यो जम्मा एक रातको कथा हो,’ उनले भने ।
‘माइ सेयर अफ स्काइ’अंग्रेजी नाम राखिएको फिल्म यसअघि लोकार्नो फिल्म फेस्टिभलको ओपन डोर ल्याबमा पनि छानिएको थियो । मेदेखि सेम्टेम्बरमा चलेको यो ल्याबको सहभागिताले आफूहरूलाई धेरै फाइदा भएको अभिमन्युले जानकारी गराए । फिल्म आउँदो अंग्रेजी वर्षको गर्मी महिनामा सुटिङ हुनेछ । फिल्ममा अभिनय गर्ने कलाकार छनौट गर्न बाँकी रहे पनि निर्मातासमेत रहेकी ऋचा शर्मा फिल्ममा महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया