सिनेमा

महंगो रकममा नेपाल आउने भयो ‘सूर्यवंशी’, हलमा रौनक आउने अपेक्षा

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार ९:४५ बजे

काठमाडौँ - नेपालका सिनेमा घरका लागि मुक्तिदाता ठानिएको बलिउड फिल्म ‘सूर्यवंशी’ अन्ततः नेपाल आउने भएको छ । वितरकले लामो प्रयासपछि फिल्म नेपाल ल्याउन लागेका हुन् । वितरक मनोज राठीले इकागजसँग कुरा गर्दै फिल्म नेपालमा हलमा लाग्ने जानकारी गराए । 

सबैभन्दा पहिला फिल्म निर्माताले नेपाल वितरणका लागि महंगो रकम मागेपछि नेपालका वितरक फिल्म लिने कि नलिने दोधारमा थिए । तर सिनेमा घर दर्शकको चाहानाले प्रेरित भएर आफूहरुले फिल्म ल्याउने निर्णय गरेको वितरक राठीले बताए । 


‘एक त ५० प्रतिशत अकुपेन्सी त्यसमाथि दर्शक हल जान डराइरहेको अवस्था छ । तर उद्योगलाई गतिशील बनाउन रिस्क लिनैपर्छ भन्ने ठानेर हामीले फिल्म नेपालमा रिलिज गर्ने निर्णय गरेका छौँ,’वितरक राठीले इकागजसँग भने । वितरक राठीले फिल्म किन्न तिरेको पैसाको बारेमा भने कुरा गर्न चाहेनन् ।

तर इकागजलाई प्राप्त सूचनाअनुसार बलिउड फिल्मका निर्माताले वितरकसँग ८० लाख भारु मागेका थिए । वितरकले अहिलेको समयमा यत्तिको महंगो रकम नेपालबाट उठ्ने सम्भावना नरहेको बताए पनि बलिउड फिल्म निर्माता ठसमस नभएपछि यही रकमको हाराहारी तिर्न राजी भएका थिए । ८० लाख भारतीय रुपैँया नेपालीमा रुपान्तरण गर्दा १ करोड ३० लाख हुन आउँछ । 

योबाहेक वितरकले राष्ट्र बैंकबाट पैसा पठाउन सक्ने अनुमति बेलैमा नदिँदा पनि फिल्मको नेपाल रिलिज अनिश्चित बनेको थियो । नेपालबाट भारत पैसा पठाउन राष्ट्र बैंकले स्वीकृति दिनुपर्छ र यसका लागि राष्ट्र बैंकले एक हप्ताको समय लिन्छ । यता वितरक र उताका निर्माताबीच फिल्म लिन सहमति भए पनि राष्ट्र बैंकले बेलैमा स्वीकृति नदिँदा फिल्म नेपालमा आउँछ कि आउँदैन भन्ने दोधार थियो । 

वितरक राठीले अब फिल्म आउने कन्फर्म भइसकेकाले यसलाई बलिउड फिल्म भन्दा पनि उद्योगलाई गतिशील बनाउन सक्ने फिल्मको रुपमा लिएर सकारात्मक सहयोग गर्न आग्रह गरेका छन् । उनले नेपाली फिल्म उद्योगका चर्चित कलाकारको उपस्थितिमा पत्रकारका लागि प्रेस सो गर्ने योजना बनाइरहेको पनि बताएका छन् । 
‘त्यसका लागि फिल्म एक दिन अघि नै आउनुपर्छ । मैले उता निर्मातालाई आग्रह गरेको छु । भयो भने माहोल बनाउन सकिन्छ भन्ने अपेक्षा छ,’राठीले भने ।

‘सूर्यवंशी’लाई नेपालमा मात्र होइन भारतमै पनि महामारीपछिको सबैभन्दा ठूलो रिलिजको रुपमा लिइएको छ । पहिलो र दोस्रो महामारीका बीचमा केही फिल्म रिलिज भए पनि ती फिल्मले पर्याप्त दर्शक पाएका थिएनन् । यसमा सलमान खानको ‘राधे’ र अक्षयकुमारको ‘बेल बटम’ जस्ता फिल्म पनि सामेल थिए । अपवादको रुपमा दक्षिण भारतमा भने केही फिल्मले राम्रो व्यापार गर्दै आएका छन् । 

रोहित सेठ्ठीको ‘कप युनिभर्स’को पहिलो फिल्म मानिएको यो फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । योबाहेक फिल्ममा ‘सिंघम’ र ‘सिम्बा’का मुख्य कलाकार क्रमशः अजय देवगन र रनवीर सिंह फिल्ममा अतिथि भूमिकामा देखिनेछन् । फिल्म आउँदो नोभेम्बर ५ अर्थात् आउँदो शुक्रबार रिलिज हुँदैछ ।  
 


Author

थप समाचार
x