सिनेमा

‘क्यामरा सिकेर’ जलवायुमा परिवर्तनमा बनेका ५ फिल्म पुरस्कृत

इकागज |
कात्तिक १५, २०७८ सोमबार १५:२१ बजे

काठमाडौँ - जय वायु परिवर्तन सम्बन्धी विषयमा बनेका ५ फिल्मलाई पुरस्कृत गरिएको छ । सोमबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा भएको कार्यक्रममा १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीले बनाएका फिल्मलाई विकास बोर्ड अध्यक्ष नेपालका अध्यक्ष दयाराम दाहाल र ब्रिटिश काउन्सिल अध्यक्ष शहीदा म्याकडुगले पुरस्कृत गरे । 

ब्रिटिश काउन्सिल र चलचित्र विकास बोर्डले इन्टु फिल्मस् युकेसँगको सहकार्यमा जलवायु परिवर्तनसम्बन्धी ‘थिम’मा आयोजना भएको फिल्म बनाउने प्रतिस्पर्धामा अन्तिम १५ बाट ५ फिल्मले पुरस्कार जितेका हुन् ।  ब्रिटिश काउन्सिलको ‘क्यामरा सिक’ कार्यक्रम अन्तर्गत आयोजना भएको यो सालको प्रतिस्पर्धामा किशोर किशोरीले जलवायु परिवर्तनसम्बन्धी विषयमा फिल्म बनाउनु पर्ने सर्त राखिएको थियो । कार्यक्रमलाई युनिसेफ नेपाल, वाइल्ड लाइफ कन्जरभेसन र इन्टरनेसनल युथ मिडिया समिटको पनि साथ रहेको थियो । 


कार्यक्रममा अर्घाखाँचीको मदरल्यान्ड इंग्लिस बोर्डिङले बनाएको ‘लोन्ली स्टेप्स अफ अ फार्मर’ले सबैभन्दा रुचाइएको चलचित्रको पुरस्कार पायो भने समता स्कुलले निर्माण गरेको ‘से नो टु प्लास्टिक्स’ले दर्शकमाथिको प्रभाव शीर्षकको पुरस्कार जितेको थियो । त्यसैगरी अपराजिताले निर्माण गरेको ‘मिगर फ्युचर’ले राम्ररी बनाएको चलचित्रको पुरस्कार जित्यो भने क्रिस्टल माउन्टेन स्कुल धो तराप उपत्यकाले निर्माण गरेको ‘क्लाइमेट चेन्ज इ द हिमालयज’ले जलवायु परिवर्तन पुरस्कार पायो ।

नन्या खड्काले निर्माण गरेको ‘आइ एम हनुमन्ते’ले भने नौलो शैलीको फिल्म शीर्षकको पुरस्कार हात पारेको थियो । विजेता पाँचै फिल्मकर्मीले ट्रफी तथा क्यामरा किट जिते । अन्तिम प्रतिस्पर्धामा छानिएका १५ वटै फिल्मलाई फिल्म निर्माणका लागि १ लाख ५० हजार रकम उपलब्ध गराइएको थियो । विजेता फिल्म चलचित्र विकास बोर्डका सूचना अधिकृत चिरञ्जीवी गुरागाइँ सम्मिलित निर्णायक मण्डलले छानेको थियो ।

जलवायु परिवर्तनमा किशोर किशोरीको आवाजको प्रतिनिधित्व गराउने उद्देश्यसहित ब्रिटिश काउन्सिलले सन् २०२१को मे–जुलाई महिनामा क्यामरा सिक कार्यक्रम अन्तर्गत चलचित्र प्रतिस्पर्धाको आयोजना गरिएको थियो । प्रतिस्पर्धामा ५० भन्दा बढी लघु चलचित्र प्राप्त भएको थियो जसमध्ये १५ वटा छानेर सार्वजनिक मतदानका लागि राखिएको थियो । यसरी राखिएको मतदानबाट प्राप्त भोटका आधारमा ५ चलचित्र छानिएको कार्यक्रममा जानकारी गराइएको थियो । विजेता चलचित्रहरू स्कटल्यान्डको ग्लास्गोमा हुने युएनएफसीसीको कप२६ सम्मेलनमा देखाइनेछ ।

यसैगरी समारोहमा जलवायु परिवर्तन सम्बन्धी चलचित्र बनाउनका छानिएका १० जना किशोर किशोरीको पनि नाम सार्वजनिक गरिएको थियो । छनौटमा परेका किशोर किशोरीले नोभेम्बर २० मा पर्ने बाल दिवसका दिन प्रदर्शन गर्ने गरी फिल्म बनाउनु पर्नेछ । उनीहरूले फिल्म बनाउन लागि १ लाख ५० हजार नगद सहयोग पाउनेछन् ।कार्यक्रममा किशोर किशोरीलाई पुरस्कार प्रदान गर्दै चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले किशोर किशोरीमा फिल्मप्रतिको रुचिले नेपाली फिल्मको भविष्य उज्जवल रहने संकेत गरे ।

‘आजका यिनै किशोर भोलिका फिल्ममेकर र दर्शक बन्नेछन् । तर उनीहरूमा  प्रभावकारी रुपमा कथा भन्ने सिप विकासको लागि हामीले सक्दो स्रोत साधान उपलब्ध गराउनु पर्छ जुन क्यामरा सिकले गरेको छ,’ उनले भने, ‘आगामी दिनमा पनि हामी ब्रिटिश काउन्सिलसँग यस्ता धेरै सिप अभिवृद्धिका कार्यक्रम गर्न इच्छुक छौँ । 

कार्यक्रममा अध्यक्ष दाहालले बोर्डले गरिरहेका गतिविधिको छोटो जानकारी दिँदै बोर्डले बालबालिका लक्षित कार्यक्रम पनि गर्न लागेको जानकारी गराएका थिए । 
‘क्यामरा सिक’ब्रिटिश काउन्सिलको चलचित्र निर्माण सम्बन्धी परियोजना हो । काउन्सिलका कला विभाग प्रमुख निश्चल ओलीले किशोर किशोरीलाई फिल्म निर्माणका आधारभूत कुरामा प्रशिक्षित गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जानकारी गराए । 

‘फिल्म यस्तो विधा हो जहाँ कलाका लगभग सबै विधा समेटिन्छन् । फिल्ममा कथा हुन्छ, साहित्य हुन्छ, ब्याकग्राउन्ड स्कोर हुन्छ, संगीत हुन्छ, छायांकन हुन्छ फोटोग्राफी हुन्छ, अभिनय हुन्छ, नवरस हुन्छ मतलब कि फिल्म सिकाउनु भयो भने एक साथ धेरै विधा सिकाउनुहुन्छ,’ उनले भने, ‘अहिले हामीले श्रव्यदृश्य माध्यममा उनीहरूलाई प्रशिक्षित हुने वातावरण निर्माण गर्न सक्यौँ भने भोलि यो पुस्ताले धेरै राम्रा राम्रा सिर्जना देशलाई दिन सक्छ । हामीले यही उद्देश्यले ‘क्यामरा सिक’ लाई किशोर किशोरीलाई सिक्ने प्लेटफर्मको रुपमा  विकसित गर्न खोजेका हौँ ।’ छनोटमा परेका १५ फिल्म अनलाइनमा हेर्न सकिने गरी उपलब्ध छन् । 
 


Author

थप समाचार
x