सिनेमा

५० दिनमा सकियो ‘म राजेश हमाल’

इकागज |
कात्तिक १५, २०७८ सोमबार १७:५१ बजे

काठमाडौँ - ‘म राजेश हमाल’को सुटिङ सकिएको छ । निर्देशक जोन योञ्जनले धनगढीमा सुटिङ सकिएको जानकारी दिएका छन् । उनले सुटिङ सक्न ५० दिन लागेको जानकारी गराए । 

‘दसैँमा ब्रेक गरेका थियौँ । समग्रमा धेरै दिन लागे पनि सुटिङ चाहिँ ५० दिन गर्र्यौँ,’ जोनले भने । फिल्मको अधिकांश सुटिङ धनगढी वरपर भएको थियो । 
फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सञ्जोग रसाइली आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा आर्यन सिग्देल अतिथि भूमिकामा देखिनेछन् ।  


नाम ‘म राजेश हमाल’ रहे पनि निर्माण टिमले फिल्म राजेश हमालको बायोपिक नभएको जनाएको छ । निर्माण टिमले हमाललाई एउटा इमोसनको रुपमा मात्र फिल्ममा प्रयोग गरेको जानकारी गराएको छ । 

आलोक शुक्लाले खिचेको फिल्मलाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् ।  वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा अनुज हमाल कार्यकारी निर्माता रहेका छन् । फिल्मको निर्माण केदार भुसालले गरेका हुन् ।जोन योञ्जनकै कथा रहेको फिल्मको पटकथा जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् । जोनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ को निर्देशन गरेका थिए ।

 

 


Author

थप समाचार
x