सिनेमा

‘सूर्यवंशी’ले ल्यायो नेपालका हलमा तिहार , हलमा बढ्दै ‘फुटफल’

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार १२:२२ बजे

काठमाडौँ - हल खुलेदेखि नै दर्शकको खडेरी खेप्दै आएका सिनेमा घरले शुक्रबार बिहानबाट राहतको सास फेरेका छन् । अपेक्षाअनुरुपमा नै बलिउड फिल्म ‘सूर्यवंशी’ले दर्शक हलसम्म बोलाउन सफल भएपछि सिनेमाघर सञ्चालकले राहत महसुस गरेका हुन् ।

पहिलो महामारीपछि बन्द रहेका हल बीचमा खुले पनि दर्शक नपाएपछि भविष्यलाई लिएर चिन्तित थिए । दोस्रो महामारी मथ्थर भएपछि सरकारले गत असोस १ देखि हल खोल्ने अनुमति दिएको थियो । तर त्यसयता रिलिज भएका कुनै फिल्मले १० प्रतिशतभन्दा बढी व्यापार गर्न सकेका थिएनन् । 


तिहारको अवसर पारेर शुक्रबारबाट प्रदर्शन थालेको ‘सूर्यवंशी’ले बिहानी सोदेखि नै चित्त बुझ्दो दर्शक पाएको थियो । देशभरका १ वटाभन्दा बढी हलमा रिलिज भएको फिल्मले काठमाडौँका मल्टिप्लेक्समा बिहानी सोमा ५० प्रतिशतभन्दा बढी दर्शक पाएको छ भने मध्यान्नका सोमा ८० प्रतिशत दर्शक छन् । 

‘सूर्यवंशी’ का नेपाल वितरक मनोज राठीले काठमाडौँबाहिर हल खुलेको कुरा राम्ररी हल्ला नभइसकेकाले पनि काठमाडौँबाहिर बिहानीको सोमा तुलनात्मक रुपमा कम दर्शक आएको अनुमान गरे । उनले भने, ‘साँच्चि भन्ने हो भने कतिलाई हल खुलेको जानकारी पनि छैन । काठमाडौंबाहिर अरु बेला पनि बिहानीको सोमा ठीकै दर्शक आउनुहुन्छ । दिउँसाकोको सोहरु राम्रो बुकिंग भइरहेको छ ।’

यो फिल्मलाई मल्टिप्लेक्सले मिल्नेजति सो दिएका छन् । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका १० वटा हलमा गरी ५८ सो दिएको छ भने बिग मुभिजले ११ सो दिएको छ । यसैगरी नयाँ बानेश्वरको वन सिनेमाले ६ सो, एफक्युबले १२ सो क्युजले ७ सो आइएनआइ सिनेमाले ९ सो, बिएसआरले ७ सो र सीडीसी सिनेमाले ७ सो दिएका छन् । भर्खरै खुलेको कीर्तिपुर सिनेप्लेक्सले यो फिल्मलाई ३ सो दिएको छ । 


Author

थप समाचार
x