इटलीको टोरिनोमा मिन्सोको ‘जुन्को’
काठमाडौँ - मिन्सो लिम्बूको लघु फिल्म ‘जुन्को‘ इटलीको टोरिनो फिल्म फेस्टिभलमा छानिएको छ । फिल्म फेस्टिभलको ३९ संस्करणमा छानिएको र यसले अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा प्रतिस्पर्धा गर्ने निर्देशक लिम्बूले जानकारी गराएका छन् ।
यही अंग्रेजी महिनाको २६ तारिखदेखि सुरु भएर डिसेम्बर ४ सम्म चल्ने फेस्टिभललाई इटलीको भेनिस पछिको सबैभन्दा ठूलो फेस्टिभल मानिन्छ । फिल्मले नवविवाहित दुलहीको एकाकीपन र आत्मबोधको कथा पेस गर्छ । फिल्म यसअघि ग्रिसको ड्रामा इन्टरनेसनल फिल्म फेस्टिभल, दोहाको एजयाल फिल्म फेस्टिभल आदि फेस्टिभलमा छनोट भएको छ ।
इटलीको टोरिनो फिल्म ल्याबका लागि पनि चर्चित छ । टोरिनो ल्याबमा गत साल मात्र अरुणदेव जोशीको ‘होरी’ छनौट भएको थियो भने यही ल्याबमा मीन भामको बन्न लागेको फिल्म ‘चिसो वर्ष’ र दीपक रौनियारको ‘स्काई इज माइन’ पनि छनौट भएका थिए । तर ल्याबबाहेक फेस्टिभलमा नै कुनै नेपाली फिल्म छानिएको यो पहिलो अवसर हो ।
फिल्ममा गरिमा सिंह र सरिता गिरीको मुख्य भूमिका रहेको छ । सिमल सिनेमाका लागि प्रेमप्रसाद अधिकारीले निर्माण गरेको फिल्ममा निरज भुसालको छायांकन रहेको छ । फिल्ममा लेखन पनि मिन्सोकै रहेको छ ।
मिन्सोले फिल्मको स्क्रिनिङ भने गुमाउनेछन् । उनले नबिन सुब्बाले निर्देशन गर्न लागेको फिल्म ‘गाउँ आएको बाटो’मा युनिट प्रडक्सन म्यानेजरको रुपमा काम गरिरहेकाले फिल्ममो स्क्रिनिङ गुमाउने भएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया