सिनेमा

‘मुन्द्रेको कमेडी क्लब’मा करिष्माको अनुभव : मान्छे चिनेँ, नक्कली हाँसो हाँस्न जानिनँ

इकागज |
कात्तिक २४, २०७८ बुधबार ११:३ बजे

काठमाडौँ- दीपाश्री निरौलालाई प्रतिस्थापन गर्दै मुन्द्रेको कमेडी क्लबमा अध्यक्ष बन्न गएकी करिष्मा मानन्धरले कमेडी क्लबमा बिताएको एक वर्ष पाठशाला जस्तो भएको बताएकी छिन् ।

सोमबार जितु नेपालले कार्यक्रम बन्द भएको जानकारी दिन गरेको पत्रकार भेटघाटमा आफ्नो अभुवन सुनाउन उपस्थित करिष्माले अध्यक्षको कुर्सीमा बसिरहँदा आफूले कमेडीको शैली मेसो पाएकोदेखि फरक क्षेत्रका अनेक मानिसको बारेमा जानकारी पाएको बताइन् । त्यो कार्यक्रमका लागि उपयुक्त व्यक्ति हैन भनेर जितुलाई टार्न खोजे पनि जितुले जिद्धी गरेकाले आफू अध्यक्ष बनेको उनको कथन थियो ।


‘जितुले पहिलोचोटि भन्दा त मैले हुँदैन भनेर ठाडै अस्वीकार गरेको थिएँ । त्यही पनि जितुले जिद्धी गर्न छाडेन । जिन्दगीमा यति धेरै त प्रयोग गर्नुभएको छ यो एउटा गर्दा केही फरक पर्दैन सम्झायो । जितुलाई सहयोगको पनि खाँचो छ भन्ने लागेपछि मैले सोको हिस्सा बन्ने निर्णय गरेँ,’ करिष्माले भनिन् । तर, उनलाई कमेडीको दुनियाँमा घुलमिल हुन भने सकस भएको थियो । दीपाश्री निरौलाको तुलनामा अध्यक्षको रुपमा उनको उपस्थिति कमजोर रहेको धेरैको टिप्पणी थियो । करिष्माले यस्ता टिप्पणी आफूले पनि चाल पाएको बताउँदै सकेको जति गरेको बताइन् ।

‘कमेडी मैले दर्शकको रुपमा हेरेकी थिएँ । यसको प्रक्रियाको बारेमा केही थाहा थिएन । यो सोको हिस्सा बन्दा मैले यसको पूरा प्रक्रिया थाहा पाएँ भनुँन,’उनले भनिन्, ‘तर मैले नक्कली हाँसो हास्न जानिनँ । किनकि त्यो म सक्दै सक्दिन, आउँदै आउँदैन ।’ 

सोमा रहेर नै आफूले धेरैभन्दा धेरै मान्छेको बारेमा जान्ने मौका पाएको पनि करिष्माको भनाइ थियो । सोमा आउने अतिथि चाल पाएपछि थप जानकारीका लागि उनीहरुको बारेमा पढेर गहिराइमा गएर चिन्ने अवसर पाएको उनले बताइन् ।  ‘यो मामलामा म धेरै अपडेट भएँ भन्ने लाग्छ । हामी एउटै फिल्डको मान्छेसँग नजिक हुन्छौँ , परिचित हुन्छौँ । तर सोमा सबै क्षेत्रका मान्छे आएकाले सबै विधाका मानिसलाई चिन्न मौका पाएँ ।  मलाई व्यक्तिगत रुपमा धेरै फाइदा भयो,’उनले भनिन् । उनले आनी छोइङ डोल्पा, विकासानन्द आदि अतिथिको भएको एपिसोड आफूले सबैभन्दा राम्रो एपिसोडको रुपमा सम्झना गर्ने पनि बताइन् । 


Author

थप समाचार
x