सिनेमा

राजेश हमालको ‘मन बूढो भएन’, गीत पनि राम्रो गएन

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १४:८ बजे

काठमाडौँ- राजेश हमाललाई ‘महानायक’ मान्ने जमात ठूलो भएझैँ लाग्छ । जब कसैले उनलाई ‘महानायक’ होइन कि भनेर शंका व्यक्त गर्छन्, हो भन्नलाई यस्तो भिड देखापर्छ जसले के बुझाउँछ भने राजेश हमालको फ्यान फ्लोइङ चर्कै छ ।

तर जब उनका फिल्म वा गीत रिलिज हुन्छन्, त्यो भिड कहाँ हुन्छ ? अत्तोपत्तो हुँदैन । न उनले खेलेका फिल्म दर्शक देखिन्छन् न म्युजिक भिडियोमा । तर लगानीकर्ताको उनीप्रतिको विश्वास अझै टुटेको छैन । त्यही भएर त पछिल्लो समय एक लगानीकर्तालाई राजेश हमाललाई म्युजिक भिडियोमा नचाएर मात्र पुगेन गवाउनु पनि पर्यो । राजेश हमालको भाव सुहाउँदो गीत पनि तयार भयो, ‘मन बूढो भएन’ ।


राजेशले खेल्ने मात्र होइन गायक पनि बन्ने निर्णय गरे । गीत रिलिज अगावै राजेश हमाल पहिलो पल्ट गायक बनेको मिडियाबाजी भयो । यति भएपछि धेरैलाई अपेक्षा थियो, राजेश हमालले खत्रै गीतमा स्वर दिए होलान् । पहिलो जो थियो । तर हप्ता दिनअघि गीत सार्वजनिक हुँदा राजेश हमालले फेरि प्रमाणित गरे, हमालबाट नामअनुसारको सिर्जनाको आस गर्नु बेकारै हो ।

अटो ट्युन गरेको गीतमा राजेश हमालले ठाउँ ठाउँ स्वर खापेका थिए । फिल्मको भाकामा भन्ने हो भने अतिथि कलाकार जस्तो । तर, पहिले पहिले राजेश हमाललाई एक सिन खेलाएर पोस्टरभरी राखे जस्तो यो गीतमा पनि त्यस्तै भयो । हमालको स्वर भनेर मुस्किलले ठम्याउन सकिन्छ तर प्रचारप्रसार यस्तो थियो कि उनले राम्रै गीत गाएका छन् । 

तर बाहिरिए पछि दर्शक हिस्स हुने त आफ्नो ठाउँमा छँदैछ गीतले निर्मातालाई पछि हिस्स पारेको छ । सार्वजनिक भएको हप्ता दिन बित्दा गीतले ७ लाख पनि भ्युज पाउन सकेको छैन । अझ यसमा निर्माताले बल गरेर थपेको भ्युज घटाउने हो भने त झनै कम होला ।  राजेश हमालले जिन्दगीमा पहिलोपल्ट गाएको गीतले हप्ता दिनमा ७ लाख पनि दर्शक नपाउनु कमै होइन र ?


Author

थप समाचार
x