ओटिटीमा फिल्म रिलिज गर्ने निर्माताको रहर मात्रै
काठमाडौँ - कोरोना महामारीको पहिलो धक्काले फिल्मकर्मीलाई ओटिटी (ओभर दि टप) को शब्दसँग परिचित गरायो । सीमित फिल्मकर्मीबीच परिचित नेटफ्लिक्स र अमेजन फिल्मकर्मीको दैनिकी बने ।
नेटफ्लिक्सले फिल्म किराहरुको दैनिकी कब्जा गर्दै गएको देखेपछि टेलिकम कम्पनी एनसेलले नेपालमा आइफ्लिक्स नामको ओटिटी खोल्यो । एनसेलको आमा एक्जियटाले खोलेको यो कम्पनीले विदेशतिरका फिल्मसँगै नेपालका फिल्म पनि राखेको थियो । यसले फाट्टफुट् आफैँ पनि सिरिजमा लगानी गर्न थालेको थियो ।
हलमा रिलिज भएर उत्रिएका फिल्म पनि थोरतिनै पैसामा हेर्न मिल्ने गरी यहाँ राखिन्थे । तर हलमै हेर्न नजाने दर्शक यहाँ किन हेर्न जान्थे ? हार खाएर यो प्लेटफर्म नै बन्द भयो । त्यसयता चलचित्र ,फोपी, सिनेमाघर, ओहो आदि अनेक एप मैदानमा छन् तर तिनको उपस्थितिले नेपाली फिल्मका निर्मातलाई खासै हौसला दिएको छैन ।
अवस्था यस्तो छ कि हौसिएर ओटिटीमा फिल्म वा सिरिज रिलिज गर्ने निर्माता ब्याक टु मंगलमान भने जस्तो युट्युबकै शरणमा पर्न बाध्य भएका छन् ।
यसको ताजा उदाहरण हो सक्किगोनी टेलिसिरियल ।
यो सिरियल ओएसआरको युट्बयु च्यानलबाट निस्किएर आफ्नै युट्यबु च्यानल जेपिटी क्रिएसनमा फर्किएको थियो । तर यसलाई ओहो च्यानलले प्रतिव्यक्ति १९ रुपैँया दिनेगरी राखेको थियो । तर दर्शकले फ्रिमा हेरिरहेको चिज किन पैसा तिरेर हेर्थे । दर्शकले यो सिरिज पैसा तिरेर नहेर्ने लक्षण देखाएपछि यो सिरिज फेरि युट्यबमा फर्किएको छ ।
यही ओहो च्यानलमा मात्रै रिलिज भएको धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ को पनि यही हालत भयो । ओटिटीमा मात्र रिलिज भएको यो फिल्मले कुनै माहोल बनाउन सकेन ।
अलिक हल्ला खल्ला गरेको चलचित्र अहिले लगभग निस्क्रिय छ भने फोपी एप जुर्मुराउने प्रयास गर्दैछ । सिनेमाघर एपले पनि हल्लाखल्ला गरेअनुरुप निर्मातामा अपेक्षा सिर्जना गर्न सकेको छैन ।
महामारीकै समयमा भएका लामा लामा छलफलमा फिल्मकर्मी ओटिटीमा जानुको विकल्प नरहेको चर्चा गर्थे । तर अहिलेको अवस्थाले ओटिटीबाट कमाउने निर्माताको रहरमा मात्र सीमित हुन लक्षण मात्र संकेत गर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया