करोडको खोजीमा सिक्किममा भुवन केसी
काठमाडौँ - भारतको सिक्किम राज्यका एक मन्त्रीले सिक्किममा सुटिङ गर्ने नेपाली फिल्मलाई १ करोडसम्म अनुदान दिने बताएपछि नेपाली फिल्मकर्मीका आँखा चौडा भएका छन् । १ करोड भारु अर्थात् १ करोड ६० लाख नेपाली रुपैयाँ भएपछि लगभग धेरै नेपाली फिल्मको काम सकिन्छ ।
नेपाली निर्माताले फाट्टफुट्ट सिक्किम सरकारको यो अनुदान पाउँदै आएका छन् तर १ करोड भारु नै पाउने भएपछि भने धेरै नेपाली निर्माता सिक्किम सरकारको अफरप्रति उत्सुक बन्न थालेका छन् । यता अरु निर्माता के कसो हो भनेर सोधपुछमा लागिरहँदा पाका निर्माता भुवन केसी भने सिक्किममा सुटिङ गर्ने तयारीसहित सिक्किम पुगेका छन् ।
निर्माता केसी ‘बितेका पल’ निर्माता राजेश घतानीलाई लिएर सिक्किम पुगेका हुन् । एक महिनाअघि सिक्किमका एक मन्त्रीलाई एभरेस्ट होटलमा उनै घतानीले फिल्मकर्मीसँग भेट गराएका थिए । सो समयमा भुवन केसी र ती मन्त्रीका बीच पनि भेट भएको थियो । मन्त्रीले नै भुवन केसीलाई सिक्किम सरकार भुवन केसीजस्ता निर्मातासँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।
निर्माता राजेश घतानी र भुवन केसी सिक्किममा
मन्त्रीको यही इच्छालाई मध्येनजर गर्दै निर्माता केसी राजेश घतानीलाई साथ लिएर सिक्किम पुगेका हुन् । भुवन केसीले तीन तीन वटा फिल्म घोषणा गरेर बसेका छन् । अनमोल केसीलाई मुख्य भूमिकामा खेलाउने गरी घोषणा भएका यी फिल्म बन्छन् भनेर धेरैले आस मारिसकेका छन् ।
किनकि आफ्नै घरबाट घोषणा भएका फिल्म छाडेर अनमोल अरुले बनाउन लागेको ‘एक्स नाइन’ खेल्दैछन् । जबकि यो फिल्म परिदृश्यमा नआउँदै भुवन केसीले अनमोललाई मुख्य भूमिकामा लिने गरी ‘एन्टि हिरो’ ‘पारस’ र ‘माइतीघर २’घोषणा गरेका थिए । तर काम सुरु हुँदैछ ‘एक्स नाइन’को ।
धेरै पहिले निर्माताको रुपमा ‘सपना’ बनाए पनि ‘करोडपति’ भुवन केसीको निर्माताको असली ‘इनिङ’ सुरु गर्ने फिल्म मानिन्छ । अर्थात् भुवन केसीलाई करोड फाप्छ । अब सिक्किम सरकारसँग कुरा मिल्यो र करोड आउने भयो भने चाहिँ घोषणा भएका मध्ये कुनै एक फिल्म बन्लान् कि ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया