ओबामापछि तेन्जिङमाथि सिनेमा बनाउँदै डिज्ने, नेपाल र न्युजिल्यान्डमा सुटिङ हुने फिल्ममा तेन्जिङ बन्ने कलाकारको खोजी सुरु
काठमाडौँ - फिल्म कम्पनी खोलेर फिल्म प्रडक्सनमा उत्रिएका बाराक ओबामाले नेटफ्लिक्ससँग मिलेर प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म बनाउने घोषणा गरेका थिए । ‘हाइएर ग्राउन्डस्’ नामको कम्पनीमार्फत उनले ‘तेन्जिङ’शीर्षकको फिल्मसँगै थप ५ फिल्म तथा सिरिज निर्माण गर्ने घोषणा गरेका थिए ।
नेपालमा खिचिने यो फिल्मको महामारीअघि नै अडिसन पनि भएको थियो । तर तेन्जिङमाथि नै विश्व प्रसिद्ध फिल्म निर्माण कम्पनी वाल्ट डिज्नेले पनि फिल्म बनाउने घोषणा गरेको छ । डिज्नेले फिल्म बनाउने तयारीसहित ग्लोबल अडिसन पनि आह्वान गरेको छ ।
अष्ट्रेलियाको एक कास्टिङ कम्पनीले नेपाल र न्युजिल्यान्डमा खिचिने फिल्मका लागि तेन्जिङ बन्ने मुख्य पात्रसँगै तेन्जिङको साथी, आमा,बुबा, श्रीमती र साथीको खोजी भइरहेको जनाएको छ । कम्पनीले शेर्पा, तिब्बतियन वा हिमालयन मुलका पुरुष र महिलाले अडिसनमा भाग लिन सक्ने जनाएको छ ।
यसैगरी तेन्जिङ बन्न चाहाने व्यक्ति २५ देखि ४० वर्ष भित्रको हुनुपर्ने पनि कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । नेपालमा अडिसन तथा सुटिङको व्यवस्थापन छिरिङ रितार शेर्पाको कम्पनी मिला प्रडक्सनले गर्नेछ । डिज्नेले हाइ बजेट दाबी गरेको फिल्म हलमा नभई भिडियो अन डिमान्डमा उपलब्ध हुनेछ । अडिसनको सूचनामै फिल्म डिज्नेको आन्तरिक प्रदर्शनका लागि निर्माण हुन लागेको जनाएको छ ।
तेन्जिङले न्युजिल्यान्डका एडमन्ड हिलारीसँग मिलेर सन् १९५३ मा पहिलो पल्ट सगरमाथा आरोहण गरेका थिए । ओबामाले निर्माण गर्ने फिल्मलाई तेन्जिङका छोरा नोर्बु तेन्जिङ नोर्गेले पनि सघाउने समाचार आएका थिए । ओबामाले बनाउने फिल्मलाई जेनिफर पेडमले निर्देशन गर्नेछिन् । जेनिफरले यसअघि सन् २०१३ मा भएको खुम्बु आइसफललाई केन्द्रमा राखेर ‘शेर्पा’ शीर्षकको डकुमेन्ट्री बनाएकी थिइन् । यसबेला १६ जना शेर्पाको ज्यान गएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया