सिनेमा

‘इन्डिया स्विट्स एन्ड स्पाइसेस्’को समीक्षाले दंग मनीषा कोइराला

इकागज |
मंसिर ६, २०७८ सोमबार १४:४१ बजे

मनीषा कोइराला एक समय बलिउडकै टप हिरोइन थिइन् । ‘बम्बई’, ‘दिल से’, ‘१९४२ अ लभ स्टोरी’ जस्ता फिल्मको सफलताले उनलाई बलिउडमा एक नम्बर हिरोइनको रुपमा स्थापित गरेका थिए । तर यो समय लामो समय टिकेन ।

यही बीचमा मनीषालाई क्यान्सरले समातेपछि त मनीषाले लगभग बिर्सिए जस्तै भएको थियो । तर सञ्जय दत्तको जीवनमा बनेको ‘सञ्जु’ले बलिउडमा उनको अस्ताउँदो करिअरलाई सञ्जिवनी दियो । तर यसले मनीषाको भूमिका पनि परिवर्तन गरिदियो ।


हिरोइनको रुपमा अभिनय गरिरहेकी मनीषा यो फिल्ममा रनवीर कपुरको आमा बनेकी थिइन् अर्थात् फिल्ममा मनीषा नरगिसको भूमिकामा थिइन् । त्यसयता ओटिटीतिर आउने केही फिल्म खेलेकी मनीषाले यस्ता फिल्मबाट खासै जस पाएकी थिइनन् ।

तर हाल विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा घुमिरहेको नयाँ फिल्म ‘इन्डिया स्विट्स एन्ड स्पाइसेस्’ले भने मनीषालाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ । यो फिल्मको हलिउडका अनलाइनले समेत समीक्षा गरेका छन् र फिल्ममा मनीषाको अभिनयको खुलेर तारिफ गरिरहेका छन् । 

सोमबार उनले यसरी समीक्षा गरिएका पोस्ट सेयर गर्दै खुसी व्यक्त गरेका छिन् । उनले सिनेमा र अभिनय आफ्नो प्यासन रहेको बताउँदै यसमा तीन दशक बिताएको स्मरण गर्दै पछिल्ला दिनमा भने फिल्मले पाएको प्रशंसाले आफूलाई पुलकित बनाएको धारणा राखेकी छिन् ।  यसपछि भने उनले फिल्मको समीक्षाका स्क्रिनसट राखेकी छिन् । गीता मलिकको निर्देशन रहेको फिल्ममा मनीषाले आमाको भूमिका निर्वाह गरेकी छिन् । 


Author

थप समाचार
x