दयाहाङलाई लिएर पूर्वमा ‘गाउँ आएको बाटो’ बनाउँदै नविन सुब्बा
काठमाडौँ - ‘गुडबाई काठमाडौँ’ निर्देशन गरेर लामो समय फिचर फिल्म निर्देशनबाट टाढा रहेका निर्देशक नविन सुब्बाले ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने भएका छन् । मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले फिल्मको ‘कास्ट एन्ड क्रु’चिनाउँदै फिल्म निर्देशनमा फर्किएको जानकारी गराएका हुन् । ‘गुडबाई काठमाडौँ’पछि उनले तीन वर्षअघि टेलिसिरियल ‘सिंहदरबार’को दोस्रो शृंखलाको निर्देशन गरेका थिए ।
तर, घोषणा कार्यक्रममा उनले ‘गाउँ आएको बाटो’को भन्दा पनि नेपाली फिल्मको भविष्यको बारेमा ज्यादा चर्चा गरे । उनले फिल्मको कथा पर्दामा हेर्न आग्रह गर्दै नेपाली सिनेमाले महामारीपछि आफ्नो रुप र शैलीमा गम्भीर समीक्षा गर्नुपर्ने तर्क पेस गरे ।
‘संसार सानो सहरमा रूपान्तरण भइसकेको अवस्थामा उत्तिकै गुणस्तरीय सिनेमा बनाउन सकिएन भने सिनेमाको क्षेत्रमा हाम्रो अस्तित्व रहँदैन । हाम्रो सिनेमा उद्योगले गम्भीरताका साथ लिनुपर्ने अहिलेको मुख्य विषय यही हो,’ उनको भनाइ थियो, ‘ अहिले सिनेमा प्रदर्शन र वितरणको तरिका फेरिएकाले दर्शकले घरमै बसेर विश्वका सिनेमा हेर्न सक्ने भएकाले प्रतिस्पर्धी सिनेमा बनाउन नसके हामी घरेलु बजारमा पनि टिक्न सक्तैनौँ । कोरोनाको यो अर्को चुनौती हो । हिजोका जस्ता चलचित्र बनाए अब हाम्रो घरेलु दर्शकले पनि साथ दिनेवाला छैनन् ।’
योबाहेक उनले अभिनयको शैलीदेखि प्रविधिको प्रयोगमा पनि व्यापक काम गर्नुपर्ने आवश्यकता बताएका थिए र उनले यसका लागि आफूले निर्देशन गर्न लागेको फिल्ममा त्यो कुरालाई कसरी प्रयोग गरिरहेको पनि जानकारी गराएका थिए ।‘दयाहाङ राई अर्को राजेश हमाल हुन लाग्यो भनेर मैले भनेकै हो । तर दयाको अभिनयमा रिपिटेसन किन छ भनेर बुझ्न मैले दयाको पछि एउटा मान्छेनै लगाएँ । अहिले उसले बुझाएको ठेलीको आधारमा हामीले नयाँ काम कसरी निकाल्न सकिन्छ भनेर अभ्यास गरिरहेका छौँ,’नविनले भने, ‘ हाम्रोमा कामलाई विशिष्टकरण गर्ने चलन स्थापित हुनै सकेन । ब्युटीसियनहरू मेकअप मेन छन् बुटिक सञ्चालक कस्ट्युम डिजाइनर । नेपालमा धेरैले दाबी गरे जस्तो प्रविधि पनि गतिलो छैन ।’
उनले नेपालका छायांकरभन्दा सस्तोमा अमेरिकन क्यामरामेन पाएको पनि चर्चा गरेका थिए । भोजपुर, संखुवासभा र धरानमा छायांकन हुने फिल्मका लागि टोली शुक्रबार भोजपुर प्रस्थान गर्दैछ । कम्युनिटी फन्डिङको अवधारणामा तयार भएको फिल्ममा नेपालसहित १० देशका नेपालीको लगानी रहेको छ । फिल्ममा दयाहाङ, राई, पशुपति राई, पराशन राई, केशव राई, प्रेम सुब्बा आदि कलाकारको अभिनय रहेको छ । मार्सिन क्याप्रिनले खिच्ने सिनेमालाई महेश राई र नविन सुब्बा मिलेर लेखेका हुन् । फिल्मले राई संस्कृतिको पृष्ठभूमिमा छोराका सपना पूरा गर्न बुबाले गर्ने संघर्षलाई विषय बनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया