सिनेमा

मानव अधिकार चलचित्र महोत्सवमा ‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ पुरस्कृत

इकागज |
मंसिर १०, २०७८ शुक्रबार ८:२९ बजे

काठमाडौं- ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को नवौं संस्करणमा राजेश खत्रीको ‘जुलुङ्गो’ले अर्को अवार्ड जितेको छ । बिहीबार सम्पन्न महोत्सवमा फिल्मले फिक्सनतर्फको अवार्ड जित्न सफल भएको हो ।

केही समय पहिले युनिसेफले आयोजना गरेको महोत्सवमा पनि यो फिल्म पुरस्कृत भएको थियो । कोरियाको बुसानमा समेत प्रतिस्पर्धी रहेको यो फिल्म नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि विजेता बनेको थियो । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रुपमा सञ्चालन भएको थियो । 


महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवमा प्रदर्शन भएका तीन विधाका तीन चलचित्रले पुरस्कार जितेका छन् । महोत्सवमा मीरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललित’ ले पनि उत्कृष्ट बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार पाएका छन् । ‘नो स्कुल टुडे’ र ‘ललित’ किपालय प्रडक्सनले प्लान नेपालसँग मिलेर गरेको वर्कसपमा तयार भएका फिल्म हुन् । किपालयले १ महिनासम्म फिल्म निर्माणको कार्यशाला दिएर फिल्म बनाउने अवसर दिएको थियो । 

जुलुङ्गो’ले फिक्सन तर्फबाट उकृष्ट, ‘नो स्कुल टुडे’ले उत्कृष्ट वृत्तचित्र र महिला फिल्मेकरतर्फको उत्कृष्ट चलचित्रका रुपमा ‘ललिता’ लाई पुरस्कृत गरिएको हो । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जितले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । 

महोत्सव सोमबारदेखि विधिवत रुपमा सुरु भएको थियो । सोमबार बिहान ७ बजेदेखि छनौट भएका चलचित्रहरू ‘मुभी डटकम’ वेबसाइटमा प्रदर्शन भएका थिए । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिएका थिए । 


Author

थप समाचार
x