सिनेमा

‘एक मुठ्ठी बादल’लाई भारतको बजारबाट नेदरल्यान्डको रोट्रेड्याम जाने अवार्ड

इकागज |
मंसिर १०, २०७८ शुक्रबार ९:० बजे

काठमाडौँ- सहारा शर्माको फिल्म ‘एक मुठ्ठी बादल’ले भारतको एनएफडीसी बजारमा रोट्रेड्याम अवार्ड जित्न सफल भएको छ । यही नोभेम्बर २० देखि २५ तारिखसम्म चलेको एनएफडीसी बजारमा फिल्मले नेदरल्यान्डको रोट्रेड्याम ल्याबमा जाने अवसर प्राप्त गरेको हो ।

एनएफडीसी बजारले बिहीबार साँझ सार्वजनिक गरेको सूचीमा फिल्मका निर्माता अभिमन्यु दीक्षितलाई यो अवसर प्रदान गरिएको जानकारी गराएको छ । दक्षिण एसियाका उदाउँदो निर्माताको रुपमा दीक्षितले यो अवसर पाएका हुन् । 


भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन (एनएफडीसी) ले आयोजना गर्दै आएको यो बजारमा यो साल नेपालबाट सहारा शर्माको ‘एक मुठ्ठी बादल’ छनौट हुन सफल भएको हो । एनएफडीसीले एक महिनाअघि ११ देशबाट २० फिल्म बजारका लागि छानिएको जानकारी गराएको थियो । 


फिल्मका निर्माता अभिमन्यु नेदरल्यान्डमा आउँदो वर्षको जनवरी २६ देखि फेब्रुअरी ६ सम्म चल्ने ल्याबमा सहभागी हुनेछन् । यस्तो ल्याबमा फिल्मकर्मीबाहेक सेल्स एजेन्ट र वितरकको पनि सहभागिता रहनेछ । यस्ता ल्याब विदेशी फन्ड र लगानी जुटाउने मामलामा महत्वपूर्ण मानिँदै आएका छन् । 

सहारा शर्माले निर्देशन गर्न लागेको यो तेस्रो फिल्म हो । पहिलो फिल्म ‘इन्द्रेणी खोज्दै जाँदा’बाट काठमाडौँ माउन्टेन फिल्म फेस्टिभलमा नेपाली पनोरमातर्फको अवार्ड जित्न सफल सहाराले दोस्रो फिल्मको रुपमा ‘बर्दिया सुन्दरी’ बनाएकी थिइन् । नेपाली भाषामा बन्ने यो फिल्मलाई अभिमन्यु दीक्षित, ऋचा शर्मा र गौथली इन्टरटेनमेन्ट मिलेर निर्माण गर्नेछन् । 


Author

थप समाचार
x