‘पासवर्ड’ निर्देशकको ‘लाखे’, फिल्ममा कलाकारको जम्बो टोली
काठमाडौंँ - महामारीका कारण बजार खुम्चिएको समयमा कम बजेटमा राम्रो चलचित्र बनाउनु पर्ने बहस भइरहेका बेला निर्माता भने झन् झन् महंगो बजेटका फिल्म बनाउन तम्सिएका छन् । दिनुहँ हुने घोषणामा कलाकारको जम्बो टोलीको उपस्थितिले अबका फिल्म झन् झन् महंगा हुने संकेत गर्छन् ।
यही बुधबार यस्तै महंगो फिल्मको घोषणा भएको छ । ‘लाखे’ शीर्षकमा बन्न लागेको यो फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा तय छन् । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले यो फिल्म निर्देशन गर्न लागेका हुन् ।
फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । निर्देशकले बाँकी कलाकार अडिसनमार्फत छनौट गरिने बताए । ‘प्रतिभा भएरपनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेतले भने ‘अडिसनले फिल्म क्षेत्रमा नयाँ तथा प्रतिभावान ब्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ फिल्मको करिव आधादर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको हो ।
निर्देशक बस्नेतका अनुसार फिल्मका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ ।
कलाकार छनौटका लागि अडिसन आगामी शनिबारअर्थात् मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान ११ ः ३० बाट राखिएको फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । अडिसन फिल्ममा करियर बनाउन चाहने जो कोहीले दिन सक्नेछन् ।
ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेते भने । फिल्मको छायाँकन पुसबाट सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया