सिनेमा

युट्युबमा किन धमाधम रिलिज हुँदैछन् नेपाली फिल्म ?

इकागज |
मंसिर २१, २०७८ मंगलबार १२:५५ बजे

काठमाडौँ - ५ वर्षअघि रिलिज भएको ‘डाइङ क्यान्डल’ ६ दिन अघि रिलिज भयो । यो फिल्मको डिजिटल वितरणको अधिकार लिएको हाइलाइट्स नेपालले युट्युबमा फिल्म नहाल्ने रणनीति अन्तर्गत लामो समय यसलाई ओटिटी प्लेटफर्ममा मात्र उपलब्ध गराउँदै आएको थियो । अन्ततः डिसेम्बर लाग्ने बित्तिकै यो फिल्म युट्यबुमा आयो । 
अहिले युट्यबुमा दिनहुँ जसो नेपाली फिल्म रिलिज भइरहेका छन् । १५ दिनको अन्तरालमा युट्युबमा नेपाली फिल्मको बाढी नै आएको छ । केही दिनअघि ओएसआर डिजिटलले ‘यात्रा’ रिलिज गरेको थियो भने हाइलाइट्सले ‘लम्फू’ ।

दर्शकले ओएसआरको च्यानलबाट ‘यात्रा’ हेरिरहेकै थिए तर यही बेलामा ओएसआरले ‘हजार जुनीसम्म’ रिलिज गरिदियो । यसको ठीक एक हप्तापछि फेरि यही च्यानलमा सोमबारबाट ‘घामड शेरे’ सार्वजनिक भएको छ । केही दिनपछि नै ओएसआरले ‘कबड्डी ३’ पनि युट्युबमा सार्वजनिक गर्ने सूचना हालिसकेको छ । अर्थात् अहिले युट्युबमा नेपाली फिल्मको बाढी नै आएको छ । 


एकै साथ यसरी नेपाली फिल्म रिलिज हुनु संयोग मात्र होइन । नेपाली फिल्मको डिजिटल अधिकार लिने कम्पनीले जानी बुझिकन युट्युबमा यसरी फिल्म रिलिज गरेका हुन् । यो समयमा फिल्म रिलिज गर्दा विदेशी विज्ञापन ज्यादा आउने र विज्ञापनबाट राम्रो पैसा आउने सम्भावनामा नेपाली फिल्म रिलिज भएका हुन् ।
हाइलाइट्स नेपालका जेनरल म्यानेजर जनक तामाङले डिसेम्बरमा ‘फिस्कल इयर’ समाप्त हुने र कन्टेन्टमा एड फ्लो बढ्ने भएका कारण नेपाली फिल्मले यो समय ताकेको बताए ।

‘हाम्रोमा असारलाई वर्षान्त भने जस्तो विदेशमा डिसेम्बरलाई वर्षान्त मानिन्छ । यो समयमा खर्च नभएर थुप्रिएको बजेट सकाउने र जनवरीबाट नयाँ योजना बनाउने सबैको ध्येय हुन्छ,’उनले भने, ‘नेपालमा हामीले हेरेको समयसँग विज्ञापनबाट धेरथोर कमाउने हो । यही आसमा यो समयमा फिल्म युट्यबुमा आएका हुन् ।’
जनकले नोभेम्बर र डिसेम्बरमा बाँकी समयभन्दा ज्यादा रेभेन्यु आउने अनुभवका आधारमा युट्युबमा फिल्म रिलिज भएको पनि जानकारी गराए । तर, यो समयमा नेपालको भने बेग्लै कुनै तथ्यांक नभएको बताए ।

‘नेपालको सन्दर्भमा त बेग्लै कुनै कारण छ जस्तो लाग्दैन । उही कतिले हेरे भन्ने मात्रै हो । धेरै आस त विदेशी विज्ञापनकै हो ,’ उनले भने । केही समययता हलमा दर्शक घट्दै जानुका कारण युट्युबमा सार्वजनिक हुने फिल्मलाई मान्न थालिएको थियो । त्यसैले केही निर्माताले डिजिटल अधिकार आफैँसँग राख्दै आएका थिए । यसरी ‘कन्टेन्ट एग्रिगेटर’लाई फिल्म नबेचेका निर्माताले ओटीटीमा फिल्म रिलिज गरेर कमाइ बढाउने अपेक्षा राखेका थिए तर ओटीटीमा राखेका फिल्म भकाभक पाइरेसी भएपछि निर्माता पुनः आफ्नो अडान फेर्न बाध्य भएका थिए । 

यता हलमा नेपाली फिल्म हेर्न नजाने दर्शकको युट्युबमा सार्वजनिक हुने फिल्ममा राम्ररी नै रत्तिएका देखिन्छन् । पछिल्लो समय सार्वजनिक भएका कुनै पनि नेपाली फिल्मले निर्माताको लगानी फिर्ता गराएका थिएनन् तर अहिले युट्युबमा तिनै फिल्मले हेरेमध्येकै उत्कृष्ट नेपाली फिल्मको रुपमा प्रशंसा पाइरहेका छन् । यसले हलको व्यापारले निराश भएका निर्माता निर्देशकलाई भने मन बुझाउने बहाना दिएको छ । 


Author

थप समाचार
x