सिनेमा

किम्फ फिल्म फेस्टिभल सुरु

‘थ्री इडियट्स’का जलवायु अभियन्ता वाङचुकले गरे फेस्टिभल शुभारम्भ

इकागज |
मंसिर २३, २०७८ बिहीबार १९:३८ बजे

काठमाडौं : अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कोभिड–१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइव्रिड शैलीमा आयोजना गरिएको हो । 

हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो । मंसिर २७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले किनोट स्पिचसहित गरे । 


डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ६० भन्दा बढी फिल्म अनलाइन र प्रत्यक्षरुपमा देखाइने भएको छ । विश्वभरदेखि दर्शकले सबै फिल्मलाई महोत्सव अवधीभर किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् । 

यसपटक किम्फ फेस्टिभलको मुख्य थिम ‘क्लाइमेट कर्म’ राखिएको छ । यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका फिल्म, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने फिल्महरु किम्फमा देखाइने भएको छ । 

फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ‘ड्रीम माउन्टेन’ प्रिमियरसँगै सुरु भयो । एक बच्चाकी आमासमेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा यसले भन्छ । 

‘उत्साहपूर्ण प्रतिक्रियाले खुसी छु’ प्रिमियरपछि मिडियासँग आरोही शेर्पाले भनिन्, ‘यो फिल्मले दर्शकलाई जीवनप्रति आशावादी रहन र बाँच्न प्रेरणा दिन्छ ।’ प्रिमियरमा पनि उनी छोरासहित उपस्थित थिइन् । यसपटकको किम्फमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी छन् भने १३ फिल्म नेपाल पानोरमा प्रतिस्पर्धी छन् ।


Author

थप समाचार
x