सिनेमा

रोकिएको ‘म’  फेरि बन्ने, निर्देशक-कलाकार फेरिए

इकागज |
मंसिर २७, २०७८ सोमबार २०:२५ बजे

काठमाडौं - सुटिङ गर्दागर्दै बीचैमा रोकिएको फिल्म ‘म’ फेरि बन्ने भएको छ । तर निर्माण कम्पनीले यसमा कलाकारदेखि निर्देशक परिवर्तन भएको जानकारी गराएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको यो फिल्मको आउँदो पुस ११ देखि पुनः छायांकन सुरु हुनेछ । 

फिल्मको निर्देशन सुर्वण थापाले गर्नेछन् । फिल्मको कथा प्रकाश पुरीले लेखेका हुन् । फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्ममा पहिले अनिल कँडेल, सञ्जोग रसाइली मुख्य भूमिकामा थिए । फिल्मको निर्देशन यसअघि परिच्छेद सेनले गरेका थिए ।


फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् । निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए । 

नायक खनालले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताएका छन् । उनले भने, ‘यो फिल्मले समाजभित्रको कथा भन्छ । फिल्म हेर्दा दर्शकहरुले आफ्नै कथा पाउनुहुनेछ । यसअर्थमा यो फिल्म समाजको ऐना हो ।’ अभिनेत्री लामिछानेले पनि फिल्मको कथा नेपाली समाजभित्रैको रहेको बताएकी छन् । फिल्ममा आफ्नो भूमिका दर्शकले फरक पाउने उनको दाबी छ ।

 सविन श्रेष्ठले भने यो फिल्म आफ्नो कमब्याक हुनसक्ने बताए । हलमा आफू अभीनित फिल्म रिलिज भइरहे पनि ‘म’ मा दर्शकले आफूलाई फरक रुपमा देख्न पाउने उनको भनाई छ । यस्तै, निराजन प्रधान र रुविना थापाले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न लागेको बताए । रुविनाको यो तेस्रो फिल्म हो भने निराजनले यही फिल्मबाट लिड नायकको रुपमा डेब्यु गर्दैछन् ।


Author

थप समाचार
x