ओशो सन्यासी बनेकी अभिनेत्री नम्रता भन्छिन् :
‘ओशोलाई यौन दर्शनको रुपमा मात्र बुझ्नु ओशो नबुझ्नु हो ।’
काठमाडौं - हिरोइनहरु चमकदमकको दुनियाँसँगै अध्यात्मको खोजीमा पनि सक्रिय हुन थालेका छन् । भिडभाड र होहल्लायुक्त पेसा छानेका उनीहरु पछिल्ला दिनमा भने ध्यान योगका लागि पनि समय निकाल्न थालेका छन् । १० दिनको विपश्यना योग शिविर बसेर आएपछि आँचल शर्माले जिन्दगी लगभग बुझेको प्रतिक्रिया दिएकी थिइन् । उनले यही समयमा ‘गल्ती त मेरै रैछ’ भनेर दिएको अभिव्यक्तिले राम्रै चर्चा पाएको थियो ।
आँचलभन्दा अगाडि बढेर अभिनेत्री नम्रता सापकोटाले भने सन्यासी बन्ने नै निर्णय गरेकी छिन् । उनले ७ दिनको ओशो शिविरमा सन्यासी बन्ने निर्णय गरेकी हुन् । सोमबार उनले ७ दिने शिविर सकाएर घर फर्किएकी थिइन् । उनले ओशो तपोवन आउने जाने गरे पनि शिविरमा भने पहिलोपल्ट लामो समय बिताएकी बताइन् । यसरी ७ दिन बस्दा आफूलाई सकारात्मक उर्जा प्रवाह भएको महसुस भएपछि सन्यासी बन्ने निर्णय गरेको इकागजलाई बताइन् ।
‘मेरो घरमा बाबा ममी, ठूलो बाबा सबैजना ओम् शान्तिको अनुयायी हुनुहुन्छ । म बच्चैदेखि आध्यात्मको संगतमा छु । ओशो पनि धेरैपल्ट आउने जाने गरेको हो तर यो पल्ट शिविरमा बस्दा बेग्लै सन्तुष्टि पाएँ । त्यसैले सन्यास लिएको हो’नम्रताले भनिन् । नम्रतालाई ओशोको सबैलाई समान मान्ने उनको दर्शन सबैभन्दा धेरै मनपर्छ । त्योबाहेक भने ओशो तपोवन स्वयंको वातावरणले सन्यासी बन्न प्रेरित गरेको उनको कथन थियो ।
‘ओशाको दर्शनले न भगवानलाई सानो र ठूलो भनेर छुट्याउँछ न मान्छेलाई । मलाई ओशोको सबैभन्दा मन परेको कुरा यो हो । दोस्रो चाहिँ मलाई तपोवनको वातावरण पनि मन पर्यो ’ नम्रताले भनिन् । उनले ओशोलाई यौन स्वतन्त्रताको दर्शनको रुपमा मात्र व्याख्या गर्नु गलत रहेको पनि बताइन् । उनको भनाइ थियो, ‘ओशोले फ्रि सेक्सको मात्र कुरा गर्छ भनेर पनि धेरैले आलोचना गरेको सुनेको छु । हो, ओशो दर्शनमा यो कुराको चर्चा छ तर त्योभन्दा धेरै लामो लामो चर्चा अरु विषयमा छ । तर हामी सेक्स मात्र समातेर बसेका छौँ ।’
ओशो सन्यासी बन्न धेरै लामो विधि केही थिएन । शिविरको अन्ततिर आएर सन्यासी बन्ने कि भनेर सोधिन्छ र मन हुनेले माला लिएर सन्यासी बनेको जनाउ दिन सक्छन् । नम्रताले पनि शिविरको अन्त्यतिर नै सन्यासी बन्ने निर्णय गरेकी थिइन् । तर धेरैले बुझे जस्तो उनले अभिनय वा कला क्षेत्री छाडेर गेरु बस्त्र लगाउन लागेकी होइनन् । उनले आफ्नो व्यवसायिक जीवनमा ओशोका लागि पनि ठाउँ निकालेको र यसले आफूलाई थप आत्मविश्वासी बनाउने अपेक्षा राखेकी छिन् ।
‘सन्यासी भनेर म आफूले गरिरहेको काम छाडेर आश्रममा बस्न जान लागेको होइन । हिजोको दिनमा म बिहान सुतेर बस्थेँ भने म अब त्यो ठाउँमा ध्यान गर्छु । यसको मतबल मैले ओशोलाई मेरो जीवनको हिस्सा बनाएको हो ’ नम्रताले भनिन्, ‘यसले मेरो व्यवसायिक जीवनलाई सन्तुलनमा ल्याउन झन् मद्दत गर्छ भन्ने लागेको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया