महेश त्रिपाठी : ‘फुच्चे वैज्ञानिक’देखि ‘चपली ३’सम्म
आजभन्दा १७/१८ वर्षअघि कुरा हो, पोखराको कास्कीकोट डेटलाइनमा एउटा समाचार आयो । समाचार थियो, कक्षा ८ मा पढ्ने एउटा फुच्चेले मान्छेले जस्तै काम गर्ने मेसिन बनाएको छ ।
त्यो मेसिन सबैभन्दा पहिला त्यही फुच्चेलाई पढाउने शिक्षकले देखे । अनि देखे, त्यही फुच्चेको घर हुँदै ट्रेकिङ जाने विदेशीले । यो मेसिनको चर्चा व्यापक भएपछि कान्तिपुर दैनिकले फोटोसहित समाचार लेख्यो । यसपछि त के थियो, समाचार आउने शृंखला नै चल्यो ।
यतिबेलाको भाषामा भन्ने हो भने स्कुल बालकले बनाएको यो मेसिनको समाचार भाइरल नै भयो । तर, स्कुले बालकको आविष्कारको क्षेत्रमा यो सुरुवात मात्र थियो, यसको केही वर्षमै यी बालक राष्ट्रियदेखि अन्तर्राष्ट्रिय समाचार संस्थामा खुब छापिए । योबीचमा उनले इन्धन र विद्युत्विना चल्ने मेसिन बनाए, आवाज सुनेर काम गर्ने रोबोट बनाए अनि बनाए, हाइड्रो इन्जिन । नेपालका प्रतिष्ठित दैनिक पत्रिकासँगै बीबीसी र न्ययोर्क टाइम्ससम्मले उनको आविष्कारका समाचार छापे ।
सानो उमेरमा अनेक आविष्कारले धेरैलाई चकित पार्ने यी बालक थिए, महेश त्रिपाठी । तिनै महेश त्रिपाठी जो आउँदो हप्ता सार्वजनिक हुने फिल्म ‘चपली हाइट ३’बाट अभिनयको नयाँ ‘इनिङ’ सुरु गर्दैछन् । ५ सय हाराहारी छोटा फिल्ममा अभिनय कौशल देखाइसकेका महेशको ठूलो रोलसहितको पहिलो ठूलो फिल्म यही हो । मेसिनसँग खेल्न छाडेर इमोसनसँग खेल्ने पेसा चुनेका महेशको पेसा छनौटको यो कथा उनले रोजेको पेसाझैँ ‘फिल्मी’ छ ।
महेश पोखराको कास्कीकोटमा पढ्दा एक साथ दुई लतमा थिए, मेसिनसँग खेल्ने अनि अभिनय गर्ने । तर ८ कक्षामा पढ्दा उनले बनाएको मेसिनले अन्तर्राष्ट्रिय ख्याति दिलाएपछि मेसिनले अभिनयको रुचिलाई जित्यो । यही मेसिनको सहारामा उनले अमेरिकी संस्थाको छात्रवृत्ति पाएपछि त उनले आविष्कारमै आफूलाई समर्पित गरे । ८ कक्षामा पढ्दा उनले बनाएको मेसिन उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।
उनले स्कुल पढ्दा थर्माकोल, कास्कोटा आदि जम्मा गरेर जुन मेसिन बनाएका थिए त्यसको चर्चा बाहिरसम्म भयो । नेपालको फुच्चेले यसरी विनास्रोत साधन यस्तो आविष्कार गरेको देखेर अमेरिकाको एउटा संस्थाले उनलाई छात्रवृत्ति अफर ग¥यो । महेश सम्झन्छन्, ‘स्कुलदेखि ब्याचलरसम्म जे पढे पनि लाग्ने खर्च उनीहरूले बेहोर्ने वाचा गरेका थिए । नभन्दै उनीहरूले त्यो वाचा पूरा गरे र मैले इन्जिनियरिङ सक्दासम्म उनीहरूले मेरो सम्पूर्ण खर्च बेहोरेका थिए ।’
तर महेशले इन्जिनियरिङ सकेपछि भने अभिनय रोजे । यस क्रममा उनले बुझे कि इन्जिनियरिङमा धेरै सीमितता छन् । अझ पढ्ने क्रममा नै राष्ट्रपति रामवरण यादवसँगको एक भेटले त उनको मनै मार्यो ।
महेशले पोखरा इन्जिनियरिङ कलेजमा पढिरहँदा पनि विद्युत् र इन्धनविना चल्ने मेसिन बनाए, आवाज बुझेर काम गर्ने रोबोट बनाए । उनका दुवै आविष्कारले पत्रपत्रिकामा प्रशस्त कभरेज पाए । यो देखेपछि राष्ट्रपति यादवले उनलाई भेट्न शीतल निवास बोलाए । उनले महेशको कामले आफूलाई प्रभावित गरिरहेको बताउँदा बताउँदै पनि देशको दुःख सुनाउन बिर्सेनन् ।
‘महेश बाबु ! तपाईंहरूको पुस्ताले प्रविधिमा धेरै गर्न सक्छ । तर हामी विज्ञानमा अघि बढ्ने अवस्थामा छैनौँ । हाम्रो देश पोलिटिक्स वरिपरि मात्र घुमेको छ,’ यादवको अभिव्यक्ति सम्झँदै महेशले भने । तर यादवले भन्नुअघि नै महेशले बुझिसकेका थिए, नेपालमा नीतिनियमको हिसाबले होस् वा लगानीका हिसाबले होस्, आविष्कारका लागि उचित वातावरण छैन ।
राष्ट्रप्रमुखले नै हार खाएको देखेपछि उनले सुषुप्त रहेको दोस्रो रुचि अभिनयमा भविष्य खोज्ने मन बनाए । तर इन्जिनियरिङ सकेका महेशलाई विज्ञानको भविष्य छाडेर आफैँ भविष्य खोजिरहेको फिल्म क्षेत्र रोज्नु सजिलो निर्णय थिएन । यो निर्णय न महेशका लागि सजिलो थियो न महेशको परिवारका लागि । हिन्दी फिल्मका ‘एभिड’ दर्शक उनले फिल्मी जुक्ति लगाए ।
सिडी प्लेयरमा फिल्म हेर्ने जमाना थियो । महेशले बजार आउने नयाँ नयाँ हिन्दी फिल्म भाडामा लिएर जान्थे । परिवार नै बसेर हेथ्र्यो । लभस्टोरीदेखि एक्सन विधासम्मका फिल्म हुन्थे । तर परिवारमा फिल्म पढ्ने बोल्ड डिसिजन सुनाउनुअघि महेशले सामाजिक फिल्म देखाउन थाले । सात दिनसम्म लगातार यस्ता फिल्म देखाएपछि आठौँ दिन उनले चुरोटको कस लिइरहेका बुबाअघि आफूलाई फिल्म पढ्ने इच्छा जाहेर गरे ।
‘बुबा नेपालमा पनि आजभोलि राम्रा फिल्म बन्न थालेका छन् । म पनि फिल्म पढ्छु,’ उनले बुबालाई तेर्छो हेर्दै सुनाए । चुरोट तुरिन लागेको थियो । सायद एक दुई पफ हुँदो हो । तर शिक्षक रहेका महेशका बुबाले बाँकी पफ तान्ने चेष्टा गरेनन् । उनले चुरोट निभाउँदै यत्ति भने, ‘तँ आफैँ बुझ्ने छस् । जे ठीक लाग्छ, त्यही गर ।’
महेशले फिल्म पढ्ने ग्रीन सिग्नल पाए । पोखरेली राजबल्लभ कोइरालाले अस्कर फिल्म (कलेज अफ फिल्म स्टडिज) कलेज पढेको उनलाई थाहा थियो । उनले पनि यहीँ एडमिसन लिए । यो २०६५/०६६ सालतिरको कुरा थियो ।
अस्करमा आउनुअघि भने महेशले अभिनयको एउटा सानो यात्रा छिचोलेका थिए । उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने केही विकासे सिरियलमा काम गरेका थिए । यी सिरियलमा उनी स्पटब्वाईदेखि कलाकारसम्मको भूमिका निर्वाह गर्थे । तर उनी केही समयमा नै यसको पनि सीमितता देखेर अघाए । उनलाई अभिनयनमा लिमिटेड भएको फिल भयो । उनले पोखरीमा रमाउन सकेनन् । सागर खोज्दै अस्करमा पुगे ।
‘अभिनय भनेको जीवनसँग जीवन जोड्ने कुरा हो भन्ने लाग्थ्यो । पर्दामा जीवनको पुनरावृत्ति हो जस्तो लाग्थ्यो तर टेलिभिजनका लागि बन्ने सिरियल खास ढर्रामा बन्थे र बनिरहेका थिए । यो त मैले खोजेको जीवन हैन भन्ने भएपछि म यहाँबाट निस्किएँ,’ महेशले भने ।
अस्कर कलेज पढ्न थालेपछि भने उनले खोजेको कुरा पाए । उनी कलेजका सुपरस्टार थिए । कलेजका विद्यार्थीले फाइनल इयरमा एउटा फिल्म बनाउनु पथ्र्यो । यसरी बन्ने लगभग हरेक फिल्ममा महेश हुन्थे नै हुन्थे । महेश कलेज पढुन्जेल यति धेरै व्यस्त थिए कि साथीहरूले उनलाई अस्कर कलेजको राजेश हमाल भनेर जिस्काउँथे ।
‘सिनियरले बनाउने फिल्ममा पानी बाँड्नेदेखि अभिनयसम्म गर्थे । खोजेकै कुरा पाएको थिएँ । यतिन्जेलसम्म पाएको थिइनँ त पैसा । तर मलाई यसमा गुनासो भने थिएन,’ महेशले बताए । तर यही बीचमा अभिनय गरेको एउटा फिल्मले उनलाई फेरि एकपटक विरक्त्यायो । यो फिल्म थियो ‘नोभेम्बर रेन’ ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको यो फिल्ममा महेशले नम्रताको डाक्टर साथीका रूपमा अभिनय गरेका छन् । साथीभाइदेखि निर्देशकसम्मले पनि महेशको काम यो फिल्ममा रुचाएका थिए तर उनलाई भने फेरि एकपटक आफूले गर्न खोजेको अभिनय र गरिरहेको अभिनयको भिन्नताले पिरोल्यो । उनले दिनभर सुटिङ गर्दै रातभर रोएर यो अवधि पार गरे ।
‘निर्देशक÷निर्माता वा अरु कसैका कारणले हैन, म आफ्नै कारणले दुःखी थिएँ । म आफैँ आफ्नो कामसँग खुसी थिइनँ । व्यावसायिक खालका फिल्म मेरा लागि होइनन् भन्ने भावना प्रबल हुँदै गएको थियो,’ उनले सम्झना गरे । यसको असर महेशले यो फिल्म ६ वर्षपछि मात्र यो फिल्म हेर्ने हिम्मत जुटाए ।
त्यसपछि भने महेशले सर्ट फिल्म र विदेशी मेकरका फिल्ममा मात्र आफूलाई केन्द्रित गरे । अनि यही बीचमा उनले आफू पढेकै अस्कर कलेजमा पढाउन थाले । तर कलेजमा पढाउनुअघिको ८ महिना उनले एउटा दुःखको जीवन बिताए जसलाई महेश भने जीवनको सबैभन्दा सुखद क्षणका रूपमा सम्झिन रुचाउँछन् ।
२०६६ सालमा पढ्न थालेको कलेज २०७० सालतिर सकियो । यस बीचमा उनले माथि भनेझैं कलेजका हरेक प्रोजेक्टमा अभिनय गरे । तर यसरी गरेका सबै फिल्ममा महेशले विनापैसा काम गर्थे । एक दिन यस्तो समय आयो, उनीसँग भएको सबै पैसा सकियो र काम पनि । सँगै बसेका साथी पनि कलेज सकिएसँगै लाखापाखा लागे ।
कलेज पढुन्जेल महेश साथीहरूसँग कोठा सेयर गरेर बस्थे । कलेज सकिएसँगै सबै जना पालैपालो कोठा छोड्न थाले । अन्त्यमा महेश मात्र बाँकी रहे । उनलाई सम्झना छ, त्यो २०७० सालको चैत ११ गतेको दिन थियो । अनि उनले घरबेटीलाई तिर्नुपर्ने रकम पनि ११ हजार नै । कुनै फिल्ममा काम गरेबापत उनले यत्तिनै छेउछाउको रकम पाएका थिए । उनले घरबेटीलाई यो रकम बुझाएर कोठा छाडेर निस्किए ।
निस्कँदा उनले साथीले छाडेको एउटा कोट र आफूलाई मन पर्ने किताब एउटा झोलामा राखेर निस्किएका थिए । यसपछिको ८ महिना उनले कहिले कलेज परिसरमा त कहिले पशुपतिमा बिताए । यसबीचमा उनलाई न जाडोले सतायो, न भोकले । पाए खाए, नखाए यत्तिकै अघाए ।
तर यो समयलाई नै महेश जीवनको खास समय मान्छन् । जिन्दगीका सबैभन्दा रमाइला दिन मान्छन् । ‘म दार्शनिक बन्न यो कुरा गरिरहेको छैन । मलाई साँच्चै त्यो समयमा पाटीमा सुतेको छु भन्ने पनि अनुभव भएन, न भोकै छु भन्ने अनुभव नै भयो । साँच्चि म कहिल्यै दुःखी भइनँ,’ महेशले सकेसम्म नम्र हुँदै सुनाए ।
इन्जिनियरिङ छाडेर फिल्ममेकर बन्न हिँडेको उनलाई घरमा पैसा मागेर चलाउन पनि आँट आएन । यो बीचमा उनले कोठा लिएर बस्ने गरी पैसा आउने काम पनि पाएनन् । उनले धेरै रात पशुपतिमा फ्रिको खाना खाए, फ्रिको पाटीमा सुते । तर आठ महिनाको एक दिन अप्रत्याशित अफर पाए । त्यो अफर थियो, आफैँले पढेको कलेज पढाउने ।
पशुपति र अस्कर कलेज चलिरहँदा कलेजको अन्तिम वर्षका विद्यार्थीको पास आउट प्रोजेक्ट पनि चलिरहेको थियो । विद्यार्थीले समूहमा बनाएका फिल्म कलेजका सिनियर जुनियर र टिचरबीच प्रदर्शन गरिन्थ्यो । फिल्मको स्क्रिनिङ सकिएपछि कलेजका प्रिन्सिपल विनोद पौडेल (निर्देशक ‘बुलबुल’)ले महेशको अभिनयको तारिफ गरे । यो फिल्म थियो प्रवेश पौडेलको निर्देशन रहेको, ‘सिंहदरबार’ ।
‘गज्जब काम गर्यौ यार महेश’ विनोदले महेशको तारिफ गरे । हुन पनि उनले माओवादी द्वन्द्वका कारण मानसिक रोगी बनेको चरित्रलाई जीवन्त बनाएका थिए । फिल्म स्क्रिनिङपछि सबैजना लाखापाखा लाग्दै थिए । महेश र अर्को एकजना साथी भने कलेजमै थिए । विनोद पौडेलले पनि छुट्टिने मनसायले ‘ल तिमीहरू पनि रुम जाने होला, जाओ’ भन्दै बिदा हुन लाग्दा साथीले फ्याट्ट भनिदिए, ‘महेशको त रुम नै छैन नि सर । यो त कहिले पशुपति, कहिले यतै सुत्छ ।’
विनोदले किन नभनेको त यत्रो दिन भन्दै सामान्य प्रतिक्रिया दिए । मनमा केही चल्यो होला तर अभिव्यक्त गरेनन् । तर त्यही रात १२ बजे छेउछाउ महेशको मोबाइलको घन्टी बज्यो । फोन उनै विनोद पौडेलको थियो । उनले धेरै कुरा नगरी भने, ‘ल भोलिदेखि कलेज पढाउन आउनू ।’
महेशले ‘ल’ या ‘नाइँ’ भन्नै पाएनन् । आफैँले पढेको कलेज पढाउने अवसर चानचुने अवसर थिएन । भोलिपल्ट कलेज जाँदा महेश विद्यार्थी हैन, शिक्षक भइसकेका थिए । त्यसयता कलेजमा सुरु भएको महेशको आबद्धता अहिले पनि जारी छ । अहिले महेश अस्कर कलेजमा एकेडेमिक कोअर्डिनेटर र एक्टिङ डिपार्टमेन्ट हेडका रूपमा कार्यरत छन् ।
कलेज पढाउन थालेपछि उनले अभिनयमा पनि उत्तिकै अवसर पाए । खासगरी विदेशी प्रोजेक्ट । जहाँ अभिनयको तिर्सना पनि मेटिन्थ्यो र गोजी पनि भरिन्थ्यो । आफ्नो सर्कलमा महेश उम्दा कलाकारका रूपमा स्थापित भइसकेका थिए ।
तर यता ‘नोभेम्बर रेन’ को अगुल्टोले भने महेशलाई तर्साउन छाडेको थिएन । साथीहरू पनि ‘ए महेशले चालु खालका फिल्म गर्दैन’ भन्दै यस्ता फिल्मका अफर महेशछेउ ल्याउँदै ल्याउँदैनथे ।
तर तीन वर्षअघि उनले विक्रम सापकोटाको ‘हल्कारा’को अफर पाए । यो बीचमा उनले व्यावसायिक र कलात्मक फिल्ममा सन्तुलन ल्याउने अनुभव पनि ग्रहण गरे । ‘हल्कारा’ सकेको केही समयपछि नै उनले निकेश खड्काबाट ‘चपली हाइट ३’को अफर पाए । यो फिल्ममा महेश प्रहरीको भूमिकामा छन् । यो फिल्मबाट उनलाई दुइटा कुराको अपेक्षा छ, एउटा यो फिल्म मासमा जान्छ र अर्को अभिनेताका रूपमा उनले आफ्नो रूपान्तरणको सीमा बुझ्न पाउँछन् । थ्रिलर विधाको यो फिल्मबाट उनले आफू नोटिस हुने अपेक्षा पनि राखेका छन् ।
महेशले पढाएका थुप्रै विद्यार्थी यतिबेला अभिनयमा जमेका छन् । तर आफ्नै विद्यार्थीसँग महेश प्रतिस्पर्धामा पनि छन् । जस्तो कि उनले पढाएका मुकुन भुसाल र महेशले सँगै ‘म राजेश हमाल’मा अभिनय गरेका छन् । आफ्नै विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपर्दा महेशलाई कस्तो लाग्दो हो ?
‘कस्तो पनि लागेको छैन,’ महेशको जवाफ छ, ‘आफ्नो शिक्षकका रूपमा उनीहरूबाट स्पेस नै पाएको अनुभव छ । हामी गुरु–चेला नै नेपाली फिल्ममा आफ्नो स्थान बनाउन संघर्षरत छौँ । प्रतिस्पर्धाको कुनै भावना छैन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया