वैशाख २३ मा ‘कबड्डी ४’, मैयाँ पाउने दौडमा काजी र बमकाजी
काठमाडौँ - ‘कबड्डी’ शृंखलाको चौथो फिल्म ‘कबड्डी ४’ले वैशाख २३ लाई प्रदर्शन मिति तय गरेको छ । सोमबार टिजर सार्वजनिक गर्दै फिल्म प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
जोमसोमको परिवेशमा त्रिकोणात्मक प्रेमकथा पस्कँदै आएको फिल्मले उमेर खाएको काजीले मैयाँ पाउन गर्ने संघर्षलाई प्रस्तुत गर्दै आएको छ । तर हरेक पटक सहरबाट कोही न कोही आएर काजीको मैयाँ पाउने सपनामा तुषारापात गर्दिन्छ ।
दोस्रो भागमा बमकाजीको रुपमा काजीको मैयाँ पाउने सपनामा अवरोध बन्ने भूमिका निर्वाह गरेका सौगात मल्लले यो शृंखलामा प्रवेश पाएका छन् । पहिलोमा यही भूमिका निश्चल बस्नेतले निर्वाह गरेका थिए भने तेस्रोमा कार्मले ।
तेस्रोमा भने मैयाँको रुपमा उपासनासिंह ठकुरीले अभिनय गरेकी थिइन् । चौथोमा यो भूमिकामा मिरुना मगर छिन् । ‘लालपूर्जा’बाट डेब्यु गरेकी मिरुना सार्वजनिक टिजरमा शिक्षिकाको भूमिकामा छिन् ।
मिरुनालाई पाउन दयाहाङ राई र सौगात मल्लले गर्ने संघर्ष नै फिल्मको कथा रहेको टिजरले संकेत गर्छ । झर्रा संवादका कारण रुचाइएको यो फिल्मले पहिलो शृंखलापछि भने संवादमा त्यो लय नभेट्टाएको धेरैको अनुभव छ । चौथो भागमा टिजरमै सही यो कमी महसुस हुन्छ ।
बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया