नेपाली निर्माताको बहादुरी : विदेशीसँग भाग्ने नेपालीलाई न्याँक्ने
काठमाडौँ - तिहारमा बलिउड फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शकको ओइरो लगाएपछि नेपाली निर्माताको मनोबल ह्वात्तै बढ्यो । एकपछि अर्को गर्दै रोकिएका फिल्मको प्रदर्शन तोक्ने प्रतिस्पर्धा चल्यो ।
योभन्दा अघि दसैँमा नै शोभित बस्नेतले ‘डाँडाको बरपीपल’ प्रदर्शन गरेर उद्योग चलायमान बनाएको भाग लिन खोजेका थिए तर फिल्मले सोचेअनुरुप दर्शक पाउँदै पाएन । निर्माताले यसलाई गलत उदाहरणको रुपमा बिर्सिए । यसको अर्को कारण थियो, दर्शकका नजरमा शोभित बस्नेतले राम्रो फिल्म बनाउँछन् भन्ने दृष्टान्त नै थिएन । त्यसैले यो फिल्मको असफलताले अन्य निर्मातालाई विचलित बनाएन ।
यो क्रममा अगाडि आए निर्माता अर्जुनकुमार । डेढ वर्षअघि नै प्रदर्शनका लागि ठिक्क परेको फिल्म रोकेर बसेका अर्जुनकुमारले एक दिन अचानक पुस २ मा ‘चपली हाइट ३’ सार्वजनिक गर्ने घोषणा गरे । उनलाई पछ्याउँदै ‘प्रेमगीत ३’, ‘लक्का जवान’, ‘कठपुतली’ आदि फिल्मले पनि दर्शक सामु जाने मिति घोषणा गरे ।
असोज १ गतेदेखि सरकारसँग झगडा गरेर हल खोल्ने निर्णय गर्दा निर्माता र वितरकले सम्झौता गरेका थिए, ‘एउटा नेपाली फिल्म रिलिज भएको दुई हप्तासम्म अर्को फिल्म सार्वजनिक नगर्ने ।’ सुरुमा यो सम्झौता हिन्दी र नेपाली दुवैमा लागू हुने व्याख्या आएको थियो । तर नेपाली फिल्मले दर्शक हलमा बोलाउने ताकत नभएको भेउ पाएका निर्माता तथा वितरक यो निर्णयमा एक महिना पनि अडिग रहन सकेनन् ।
‘सूर्यवंशी’पछि लगालग हरेक हप्ता हिन्दी तथा अंग्रेजी फिल्म प्रदर्शन हुन थाले । यसमा सम्झौतामा हस्ताक्षर गर्ने कोही बोलेनन् । यो सम्झौतामा चलचित्र विकास बोर्डको अभिभावकीय भूमिका थियो । तर कुरा त्यतिबेला बिग्रियो जब अर्जुनकुमारले तोकेकै मितिमा तेलगु फिल्म ‘पुष्पा’ प्रदर्शन हुने भयो । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका अर्जुनले यसपछि भने ‘पुष्पा’ वितरकविरुद्ध आगो ओकल्न थाले । उनले वितरकलाई नेपाली फिल्मका सत्रुदेखि लिएर गद्धारसम्म करार गरे ।
फूले त्यस्ता गद्धारलाई फिल्ममार्फत देखाउने उद्घोष पनि गरे । तर पुस २ नजिक आउनै लाग्दा अर्जुनकुमारले ‘पुष्पा’सँग जुध्ने हिम्मत गर्न सकेनन् । उनले फिल्म सारेर पुस १५ मा पुर्याए । तर यही मितिमा ‘कठपुतली’ले प्रदर्शन मिति तय गरेर बसेको थियो । हिन्दीसँग भागेका अर्जुनकुमारले ‘कठपुतली’लाई भने ह्याकुलाले मिचेर जाने सम्भावना देखे । यसो गरिरहँदा अर्जुनकुमारले बोर्ड सदस्यको जिम्मेवारी मात्र बिर्सेनन् दुई हप्ताको दूरीमा नेपाली फिल्म प्रदर्शन गर्ने सम्झौता पनि चटक्क बिर्सिए । विदेशी फिल्मसँग भागेका अर्जुनकुमार आफ्नैलाई न्याँक्न पुगे ।
विदेशीसँग भागेर नेपालीलाई न्याँक्न पुगेका अर्जुनकुमार एक उदाहरण हुन् । नेपाली फिल्मको बजार विस्तार गर्ने र आफ्नो फिल्म विदेशमा ४ करोडमा बिक्री भएको डंका पिटाउने निर्मातासम्म पनि अर्काले रोजेको मितिमा भिड्न आएका छन् ।
महाराष्ट्र सरकारले ४ महिना अघि ५० प्रतिशत अकुपेन्सीसहित हल खोल्ने निर्णय गरेसँगै बलिउड फिल्म भटाभट प्रदर्शन मिति सार्वजनिक गरे । बलिउड फिल्मले यो वर्ष मात्र होइन अर्को वर्षको आधाउधि वर्ष ‘रिजर्भ’ गरिसकेका छन् । अब नेपाली निर्माताको चुनौती भनेका बलिउडका ठूला फिल्म छल्दै दर्शकसामु आउनु हो । तर गफमा नेपाली फिल्मलाई कहाँ कहाँ पुर्याउने वाचा गर्ने नेपाली निर्माता विदेशीसँग भागेर नेपालीसँग भिडाउन तयार छन् ।
अर्काले तोकेको मितिमा निहुँ खोज्ने आउने अर्को फिल्म ‘प्रेमगीत ३’ हो । यो फिल्मले फागुन १३ लाई प्रदर्शन मिति तोकेको छ जबकि पहिलेदेखि नै यो मितिमा ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउनेवाला थियो । ४ करोडमा भारतमा फिल्म बेचिसकेको दाबी गर्ने यो फिल्मलाई अर्काले तोकेको मितिमा नै किन आउनु पर्र्यो ? कारण सजिलो छ, ‘प्रेमगीत’ निर्माताले ‘चपली हाइट’लाई हेप्न सक्ने अनुमानमा यो निर्णय गरेका छन् । तर यी दुवै फिल्ममा अर्को पनि किचलो छ । यी दुवै फिल्मका वितरक एकै हुन् र दुवै फिल्म बनाउन वितरकले निर्मातालाई मोटो रकम दिएका छन् ।
भर्खरै सुटिङ सकेको ‘कबड्डी ४’ले पनि सोमबार ट्रेलरभन्दा लामो टिजर सार्वजनिक गर्यो । टिजर सार्वजनिक गर्नुको उद्देश्य थियो , प्रदर्शन मिति सार्वजनिक गर्नु । तर यो फिल्मले पनि अरु कोही नपाएर साथी नेपाली निर्माताकै मितिमा आँखा गाड्यो । वैशाख २३ लाई प्रदर्शन मिति घोषणा गरेको यो फिल्मले यही मितिमा पहिले नै ‘लक्का जवान’ आउने गरेको घोषणालाई घाममा सुकायो । केही दिनअघि मात्र ‘लक्का जवान’ले वैशाख २३ मा प्रदर्शन हुने घोषणा गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया