सिनेमा

पामे फिल्म फेस्टिभलमा ‘महानगर’को नेपाल प्रिमियर, पोखरामा ५ दिन चल्ने फेस्टिभलमा ९४ फिल्म देखाइँदै

इकागज |
पुस ६, २०७८ मंगलबार १७:५ बजे

काठमाडौँ - यही पुस १२ गतदेखि १६ गतेसम्म पोखरामा चल्ने पामे फिल्म फेस्टिभलमा मोहन राई निर्देशित ‘महानगर’को नेपाल प्रिमियर हुने भएको छ । भारतको कोलकातामा वल्र्ड प्रिमियर गरिएको फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो ।

सार्वजनिक प्रदर्शनको पर्खाइमा रहेको फिल्म नेपालमा भने पामे फिल्म फेस्टिभलमा पहिलोपल्ट देखाइन लागेको हो । फिचर फिल्म श्रेणीमा रहेको फिल्म अप्रतिस्पर्धी विधामा रहनेछ । फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।


पोखराको पर्यटन एवं नेपालको रंग क्षेत्रलाई चलायमान गराउने अभिप्रायले सुरु भएको फेस्टिभलमा ‘महानगर’बाहेक घनश्याम लामिछानेको ‘अग्निदहन’ र अजितपाल सिंहको ‘फायर इन दि माउन्टेन’ पनि प्रदर्शन हुनेछन् । सन्डान्समा प्रिमियर भएको यो फिल्ममा विनम्रता राई र चन्दन बिष्ट आदि कलाकारको अभिनय रहेको छ ।

भारतीय फिल्ममेकर अजितपालको यो डेब्यु निर्देशन हो । नेपाल र भारतबाहेक फेस्टिभलमा इन्डोनेसिया र युरोपका फिल्म पनि छनौट भएका छन् ।  यो महोत्सवमा विश्वभरवाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं वृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको सहभागिता रहने आयोजकले जनाएको छ । 

यो महोत्सवमा फिल्म स्क्रिनिङका अलावा, साहित्यकारको प्रस्तुति, साँस्कृतिक प्रस्तुति थारुनाच, र्याम्प वार्क, भेषभुषा सो, गुरुङ नाच, खत्रीहरूको खुकुरी नाच लगाएत नेपाली आर्कषक मौलिक प्रस्तुतिहरू रहनेछन । 

यो महोत्सवको मुख्य कार्यक्रम पोखराको फेवातार किनारमा हुनेछ भने अन्य विभिन्न कार्यशाला, प्रस्तुतिहरु चलचित्र प्रर्दशन हलहरु , विभिन्न होटलहरु लगायत पोखराका विभिन्न महत्वपूर्ण स्थानमा हुनेछन । यो ५ दिने महोत्सवको १ लाख भन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन एवं सहभागिता जनाउने अनुमान गरिएको छ ।

महोत्सवको समापनमा विभिन्न ६ विधामा पुरस्कार पनि वितरण गरिनेछ । आयोजकले जनाएअनुसार महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, स्टुडेन्ट, फिल्म क्रिटिक, अडियन्स च्वाइस अवार्ड विधामा उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिनेछ । 


Author

थप समाचार
x