सिनेमा

तेलगु फिल्म ‘हिटमेन’मा आँचल, नेपाल रिलिज मार्चमा

इकागज |
पुस २३, २०७८ शुक्रबार ९:५० बजे

काठमाडौँ  - नेपाली भाषामा समेत सुटिंग भएको तेलगु फिल्म ‘हिटमेन’ मा आँचल शर्माको पनि अभिनय रहेको  छ । बिहीबार सोल्टी होटलमा पत्रकारसँग अन्तक्र्रिया गर्दै निर्माण टिमले फिल्मको विषयमा जानकारी गराएको थियो । फिल्ममा आँचलबाहेक नेपालबाट प्रशान्त ताम्राकार, मिलन सिजापति, अदिती शमाले पनि फिल्ममा अभिनय गरेका छन् । कार्यक्रममा फिल्मको छोटो झलक देखाइएको थियो । 

मुख्यतया तेलगु भाषामा बनेको फिल्मलाई दीपक अधिकारीले निर्माण गर्न लागेका हुन् । फिल्मलाई विष्णु अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा मुख्य नायकको भूमिकामा समेत विष्णु नै रहनेछन् । 


आँचलले फिल्ममा आफ्नो भूमिका चित्त बुझ्दो रहेकाले अभिनयका लागि राजी भएको बताइन् । ‘मेरो भूमिका एकदमै रोचक छ, यही कारण पनि फिल्म गर्न तयार भएँ । यो फिल्ममार्फत् म नयाँ दर्शकसम्म पुग्ने अपेक्षामा छु’ उनले भनिन् । उनले तेलगु फिल्ममा काम गर्ने वातावरण भने नेपाली फिल्मभन्दा बिल्कुलै फरक रहेका बताएकी थिइन् । ‘हाम्रोमा भन्दा त्यहाँको मानिस काममा साह्रै प्यासोनेट’उनको टिप्पणी थियो । 

कार्यक्रममा शुभकामना दिन गएका निर्माता संघका अध्यक्ष आकाश अधिकारीले दक्षिण भारतीय फिल्ममा नेपाली कलाकारको आबद्धताले नेपाली कलाकारको क्षितिज फराकिलो पार्ने विश्वास व्यक्त गरे । त्यसैगरी फिल्मका निर्देशक तथा नायक विष्णु अधिकारीले फिल्ममार्फत आफ्नो उद्देश्य नेपाल चिनाउनु रहेकाले सोही अनुसार सुटिंग गरेको बताए । 

यो फिल्मको पोखरा र काठमाडौँमा केही दिन सुटिंग गरिएको थियो । फिल्ममा आँचललाई नेपाली चरित्रमा नै देख्न सकिन्छ । तर फिल्म गर्ने क्रममा आफूले तेलगु सिकेको भन्दै केही संवाद तेलगुमा बोलेर सुनाएकी थिइन् । यो फिल्म मार्चमा विश्वभर रिलिज गर्ने लक्ष्य रहेको निर्माण टिमले जानकारी गराएको थियो । 


Author

थप समाचार
x