सिनेमा

‘चिसो मान्छे’ प्रदर्शन अगावै ‘परस्त्री’ बनाउँदै डीएस डिजिटल

इकागज |
पुस २३, २०७८ शुक्रबार १५:३८ बजे

काठमाडौँ - वर्षेनी फिल्म बनाउँदै आएको डीएस डिजिटलले ‘चिसो मान्छे’को सार्वजनिक प्रदर्शन अगावै अर्को फिल्म बनाउने घोषणा गरेको छ । शुक्रबार मेरियट होटलमा औपचारिक कार्यक्रम गर्दै निर्माता शर्मिला पाण्डेले फागुनदेखि फ्लोरमा जाने गरी ‘परस्त्री’ शीर्षकमा फिल्म बन्न लागेको घोषणा गरिन् । ‘चिसो मान्छे’ आउँदाे वर्षको वैशाख ३० मा प्रदर्शन हुँदैछ ।

फिल्मलाई शर्मिलाकै छोरा सुरज पाण्डेले निर्देशन गर्नेछन् । सुरजले दीपेन्द्र के खनालको निर्देशन रहेको ‘लव लव लव’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । त्यसयता उनले दीपेन्द्र के खनाललाई पर्दा पछाडि सघाउँदै आएका थिए । 


विवाहेत्तर सम्बन्धमा बन्ने फिल्ममा कोशिस क्षेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछन् । फिल्मको लुकसहित पत्रकार सम्मेलनमा उपस्थित उनले चुनौतीपूर्ण भूमिकामा आफूलाई पत्याएकोमा निर्माण टिमलाई धन्यवाद दिए ।

‘एकदमै कठिन चरित्र छ । यस्तो कठिन चरित्रमा पत्याउनु भएकोमा निर्माण टिमलाई आभार व्यक्त गर्न चाहान्छु,’ उनले भने, ‘दर्शकहरूले माया गरेर यहाँसम्म छु । भविष्यमा पनि यसको अपेक्षा राखिरहेको छु ।’

गायकको रुपमा परिचित कोशिसले ‘मोक्ष’बाट डेब्यु गरेका थिए । त्यसयता उनले ‘पर्व’, ‘रातो गलबन्दी’ आदि फिल्ममा काम गरेका छन् ।दीपेन्द्र के खनालको लेखन रहने फिल्ममा बाँकी कलाकार भने अडिसनबाट छानिने कार्यक्रममा जानकारी गराइयो ।

निर्माण टिमले अर्को एकजना अभिनेता र दुई अभिनेत्री अडिसनमार्फत छानिने जानकारी गराएको छ । उनीहरूले यसका लागि आवेदन खुला गरिएको पनि जानकारी गराएका छन् । 

 निर्माण टिमका अनुसार २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रकी अन्य अभिनेत्री अडिसन मार्फत छानिने छन् । सिनेमाको सम्पुर्ण छायांकन काठमाडौंमा गरिनेछ ।

यस्तै निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता पाण्डेले आफ्नो पहिलो प्रथामितामा अभिनय भन्दापनि निर्देशन रहेको बताए । सिनेमा क्षेत्रमा प्रवेश गरेदेखि नै आफू निर्देशकको रुपमा आउने चाहाना भएकाले पनि लामो समय निर्देशनमा अध्यन र अनुसन्धान गरेर परस्त्री निर्देशन गर्ने हिम्मत जुटाएको बताए ।  फिल्मलाई निरज कँडेलले खिच्नेछन् । 


Author

थप समाचार
x