सिनेमा

अनलक्‍की सेभेन :

जसलाई फापेन सात नम्बर

सामीप्यराज तिमल्सेना |
कात्तिक ५, २०७७ बुधबार १३:३३ बजे

नेपाली फिल्मको अवन्नतिको चर्चा हुँदा धेरैले सामूहिक रुपमा फिल्म बनाउने अभ्यासको कमीलाई पनि एउटा कारणको रुपमा व्याख्या गर्ने गरेका छन् । सानो बजार भएको नेपालमा एक्लैले लगानी गर्दा सम्झौता गर्नुपर्ने र कालान्तरमा यसले फिल्मको गुणवत्तामा असर गरिरहेको तर्क बेलाबखत सुन्ने गरिन्छ । त्यसैले सिनेमा निर्माणमा रुची राख्ने निर्माताहरुले एक्ला एक्लै होइन, सामूहिक रुपमा फिल्म निर्माण गर्ने परम्पराको थालनी गर्न सके उद्योगले फड्को मार्ने आवाज उठ्ने गरेको छ । 
विश्वका उन्नत फिल्म उद्योगको इतिहास हेर्ने हो भने पनि एकलभन्दा पनि सामूहिक लगानीको अभ्यास गरेका उद्योगले फड्को मारेको देखिन्छ । तर, नेपालमा यदाकदा त्यो अभ्यास सुरु भएको भए पनि एकाध फिल्म बनाएर यस्तो समूह तितरबितर भएको देखिन्छ । मानसरोवर फिल्मस् जुट फुटको यस्तै इतिहास भएको फिल्म कम्पनी हो जुन सुरु हुँदा यसले नेपाली फिल्मको कायापलट नै गर्ने अपेक्षा गरिएको थियो तर ५ वर्ष नपुग्दै आफैं यसको कायापलट भयो । ठूलो अपेक्षासाथ फिल्म निर्माणमा हाम्फालेको कम्पनी ५ वटा फिल्म बनाएर चोइटिन थाल्यो भने बाँकी २ फिल्म बनाएर सदाका लागि बन्द भयो ।  

५ वर्षमै छिन्नभिन्न मानसरोवर 
२०५० सालमा मानसरोवरको फिल्मस्को घोषणा हुँदा नेपाली फिल्म क्षेत्रमा तरंग आएको थियो । ७७ लाख ५० हजार  पूँजीसहित सुरु भएको कम्पनीमा भोला रिजाल, मुकुन्द ढुंगाना र शेखर कोइरालाको नेतृत्वमा २७ जना सदस्य संगठित थिए जो सामूहिक रुपमा फिल्म बनाउने उद्देश्यका साथ कम्पनीमा आबद्ध भएका थिए । मिलेर फिल्म बनाउने र नेपाली फिल्मलाई एक हदसम्म व्यवसायिक बनाउने समूहको सपना थियो । नभन्दै बनाएको पहिलो फिल्मले नै मानसरोवर फिल्मस्लाई उद्योगमा दह्रो खुट्टा टेकायो । त्यस बेलाकी चल्तीकी हिरोइन कृष्टि मैनाली दोहोरो भूमिकामा प्रस्तुत भएको ‘लक्ष्मीपूजा’ले बक्स अफिसमा पैसा छाप्यो ।


त्यसपछि बनेका ‘छोरी बुहारी’ र ‘जुन तारा’ औसत रहे पनि यसपछि बनेको ‘साथी’ले बक्स अफिसका सारा रेकर्ड ब्रेक गर्यो । राजेश हमाल र करिष्माका साथमा कुकुरको अभिनय रहेको फिल्मबाट मानसरोबर फिल्मस्ले कुस्त पैसा कमायो । यसपछि बनेको ‘१ नम्बरको पाखे’ले पनि राम्रै पैसा कमायो । तर त्यतिञ्जेलसम्ममा यो समूहमा रहेको हरकोहीमा मनभेद सुरु भइसकेको थियो । कम्पनी उतिसाह्रो घाटामा थिएन तर सबै सदस्य एक ठाउँमा रहन सक्ने अवस्था थिएन । २७ जनाको समूहमध्ये ९ जना सदस्य लिएर कम्पनीबाट बाहिरिए शेखर कोइराला । शेखर कोइराला बाहिरिएपछि मानसरोवरले ‘अप्सरा’ र ‘गौंथली’ गरी थप दुई फिल्म बनायो तर यसपछि मानसरोवर सदाका लागि बन्द भयो ।

सामान्यतया कम्पनी घाटामा जाँदा सदस्य तितर बितर हुन्छन् । तर, मानसरोवरले आफूले बनाएका कुनै पनि फिल्मबाट घाटा खानु परेको थिएन । त्यही पनि किन छिन्नभिन्न भयो त समूह ? समूहमा सिनेमाभन्दा अन्य पेशाका मानिस धेरै भएको र उनीहरुले सिनेमा निर्माणको प्रक्रिया नबुझ्दा समस्या भएको शेखर कोइराला बताउँछन् ।

‘कम्पनीमा डा भोला रिजाल चेयरमेन र म एमडी थियौं । हामी सिनेमाकै पृष्ठभूमिमा भएकाले हामीलाई त्यो जिम्मेवारी दिइएको थियो । तर, जताततै हामी मात्र हाइलाइट भएको भन्ने गुनासो थियो साथीहरुको ,’ शेखर सम्झन्छन् ‘अरु ठूलो कुरा त केही भएको थिएन । तर यसै यसै लाखापाखा लागियो ।’ शेखर कोइरालाले मानसरोवरबाट छुट्टिएर एकल लगानीमा ‘उपकार’ ‘इज्जत’, ‘शिवशक्ति’, ‘उत्सव’, ‘बाजीगर’ बनाए भने ‘कुरुक्षेत्र’ र ‘मुग्लान’ किशोर खनालसँगको सहकार्यमा बनाए ।

मानसरोवरको न्वारन गर्नेदेखि समूहजम्मा गर्ने दायित्वसमेत निर्वाह गरेका डा भोला रिजाल भने चुस्त व्यवस्थापनमा चुक्दा कम्पनी जोगाउन नसकिएको बताउँछन् । ‘पाकिस्तानमा एमबिबिएस गरिहँदा मैले पाकिस्तान रेडियोमा काम गर्ने अवसर पाएको थिएँ । यही बेला समाज परिवर्तनमा सञ्चारको भूमिका महत्वपूर्ण हुँदोरहेछ भन्ने महसुस गरेका थिएँ,’रिजालले भने, ‘अझ सिनेमाले यो काम झन् छिटो र प्रभावकारी तरिकाले गर्न सक्छ भन्ने लागेपछि मानसरोवरको कल्पना गरेको थिएँ । डाक्टर, इन्जिनियर, प्रहरी धेरै विधाको मानिस हुनुहुन्थ्यो । सायद, यही नै हाम्रो कमजोरी भयो ।’

फरक विधामा व्यस्त मानिसलाई लिएर समूह बनाउँदा मानसरोवर छिन्नभिन्न भएको रिजालको बुझाइ छ । ‘यो समयमा आएर म कसैलाई ब्लेम गर्न चाहान्न । पहिलो कुरा त कम्पनी मिस म्यानेज्ड भयो । दोस्रो कुरा चाहीँ हामी सबैको पहिलो पेसा अरु नै थियो । कसैले पनि राम्ररी समय दिन सकेनौं । जसको भर पर्‍यौं, उहाँहरुले म्यानेज गरिदिनु भएन ।' मानसरोवरको सबैभन्दा सफल फिल्म ‘साथी’को निर्देशन गरेका लक्ष्मीनाथ शर्मा पनि मानसरोवर बन्द हुँदा यसले नेपाली सिनेमाको एउटा कालखण्डको भविष्य नै प्रभावित भएको धारणा राख्छन् । ‘त्यो किन बन्द भयो अब त्यतातिर नजाऔं । यस विषयमा मैले टिप्पणी गर्नु उचित पनि हुन्न,’ शर्माले भने, ‘ त्यो समूह टिकेको भए यसको नक्कल गरेर थप समूह बन्थे र यसबाट उद्योगले थप व्यवसायिक फिल्म पाउन सक्थ्यो । यो क्षेत्रमा आफू पनि टिक्ने र अरुलाई पनि टिकाउने हो भने सामूहिक निर्माणमा जानुको विकल्प छैन ।'

नेपालमा रातारात निर्माता मिलेर फिल्म बनाउने घोषणा गर्ने तर रिलिज नहुँदै झगडा गरेको खबर सार्वजनिक हुनु आम घटना मानिन्छ ।  सानातिना स्वार्थ र फिल्म निर्माणको प्रकृतिमा अभ्यस्त नहुँदा यसरी बेलाबखत गरिने सामूहिक प्रयत्न बीचैमा अलपत्र पर्ने गरेका छन् । तर, फिल्म निर्माण खर्चिलो माध्यम भएकाले एक्लैले धान्न पनि सकिँदैन । नेपाली फिल्मले विगतका यस्ता घटनाबाट पाठ सिकेर एक्लै हिड्ने कि सामूहिक प्रयत्न गर्ने महामारीपछि यो विषयमा पनि गम्भीर छलफल गर्न जरुरी छ ।   


 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x