फिल्म ‘कठपुतली’को सफलताले दिएका दुई सन्देश : हरर फिल्म बनाउनुस्, स्टार नभए पनि हुन्छ !
काठमाडौँ - भिमसेन लामा निर्देशित ‘कठपुतली’ पहिलो हप्ता पार गरेर दोस्रो हप्तामा प्रवेश गरेको छ । यसको सुखद पक्ष के हो भने पहिलो हप्ताबाट दोस्रोमा जाँदा पनि मल्टिप्लेक्समा यसले पाएको सोमा तलमाथि छैन । बरु पुस १६ को दिनमा आएका दर्शकको आधारमा मल्टिप्लेक्सले सो बढाएका थिए जुन अहिले पनि निरन्तर छ ।
पहिलो हप्तामा यो फिल्म हेर्न अनपेक्षित दर्शक आए । यत्तिका दर्शक आउलान् भन्ने अपेक्षा न निर्माण टिमको थियो न प्रदर्शकको । तर पहिलो दिन जब हल भरिए, हलवालालाई सो थप्न कर लाग्यो । त्यसयता हरेक दिन यो फिल्मले औसतमा उत्तिनै दर्शक पाइरह्यो जति पहिलो दिन पाएको थियो ।
यो फिल्मको व्यापारले धेरैका मनमा प्रश्न उब्जाएको छ । पहिलो त यो फिल्मले गतिलो समीक्षा पाएको थिएन । समीक्षालाई लिएर निर्देशक÷निर्माताले ठूलै असन्तुष्टि जनाए पनि । समीक्षाको कुरा छाडौँ, यो फिल्मको ‘वर्ड अफ माउथ’ पनि बलियो थिएन । फिल्म हेर्ने दर्शक ठगिएको टिप्पणीसहित बाहिरिएको सुनिन्थ्यो । त्यसका बाबजुद यो फिल्ममा दर्शकको कमी भएन ।
यो फिल्मको आंशिक सफलताबाट फिल्म निर्माताले केही कुरा ग्रहण गर्न सक्छन् । यहाँ आंशिक किन भनिएको हो भने यो फिल्मले पहिलो हप्तामा जति व्यापार गरेको छ त्यसले निर्माताको पूरा लगानी उठ्दैन । जानकारीमा आएअनुसार यो फिल्ममा २ करोडभन्दा बढी बजेट खर्च भएको छ र निर्माण टिमले अहिलेसम्म ग्रस कलेक्सन सार्वजनिक नगर्नुले पनि फिल्मले ‘रिकभरी’का लागि लामो बाटो तय गर्नुपर्ने संकेत गर्छ ।
यो फिल्मको सफलताले दिएको पहिलो सन्देश हो, फिल्म चल्नलाई ठूलो स्टार चाहिँदैन । अभिनय गर्न सक्ने कलाकार लिएर पनि तपाईँले दर्शकसम्म सही तरिकाले कम्युनिकेसन गर्नु भयो भने दर्शक हलमा आउँछन् । यो फिल्ममा बिकाऊ भनिएका कलाकार छैनन् । कार्म, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल, शिल्पा मास्के कोही पनि ‘ब्यांकबेल’ स्टार हैनन् । तर पनि फिल्ममा दर्शक आए । यसले नेपाली फिल्म चल्नलाई ठूला स्टार नै चाहिन्छ भने ‘मिथ’ तोडेको छ ।
यो फिल्मले प्रचारप्रसारमा नयाँ शैली अपनाएको थिएन तर परम्परागत प्रचारसँगै ‘न्यु मिडिया’मा आक्रामक प्रचार गरेको थियो । काठमाडौँका हरेक गल्लीमा यो फिल्मको स्ट्यान्डी देख्न सकिन्थ्यो भने फेसबुकतिर यसको ट्रेलर लामो समय स्पन्सर्ड थियो । अमेरिकातिरको फेस्टिभलमा छानिएको खबरले पनि यो फिल्मलाई फाइदा भयो । दर्शकलाई लाग्यो ‘अमेरिकामा छानिएको फिल्ममा केही त होला नी ।’ दर्शकले सोचे झैँ फिल्ममा ‘केही’ थिएन, त्यो बेग्लै कुरा हो ।
यो फिल्ममा दर्शक झुत्तिने अर्को कारण देखियो, दर्शकको हरर प्रेम । नेपालमा यदाकदा बन्ने यो विधामा पहिलो दोस्रो दिन आँखा चिम्लेर दर्शक आउने गरेको इतिहास छ । यो कुरा ‘घर’ देखि ‘सुनकेशरी’सम्मको विकेन्ड कलेक्सनले देखाउँछ । हरर विधाका यी दुवै फिल्मले पहिलो÷दोस्रो दिन हाउसफुल दर्शक पाएको इतिहास छ । ‘कठपुतली’मा पनि यही इतिहास दोहोरियो तर अरु फिल्ममा दर्शकको यो लहर तेस्रो दिनदेखि नै तोडिएको थियो तर ‘कठपुतली’ भने यसमा अपवाद देखियो । यसले के संकेत गर्छ भने नेपालमा हरर विधाका फिल्मको स्कोप धेरै छ तर सर्त यही हो कि हरेकपल्ट दर्शक ठगिनु भएन ।
डेढ वर्ष लामो बन्दाबन्दीपछि नेपालमा ठूला स्टारका फिल्म रिलिज भएका छन् । अंग्रेजी र हिन्दी फिल्म हेर्न त दर्शक आउँछन् त भन्ने पुष्टि भइसकेकै थियो, शंका थियो नेपाली फिल्ममा के गर्लान् ? ‘कठपुतली’ले यो शंका पनि निवारण गरेको छ । सही ट्रेलर र सही प्रचारप्रसारको रणनीतिसहित आयो दर्शक नेपाली फिल्म हेर्न पनि आउँछन् भन्ने कुरा पनि यो फिल्मले संकेत गरेको छ । यसको फाइदा ‘चपली हाइट ३’ र ‘म यस्तो गीत गाउँछु २’ले लिन सक्छन् कि सक्दैनन् त्यो भने आगामी दिनले देखाउनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया