गोग्राहा फिल्म रेसिडेन्सीका लागि छानिए ६ फिल्मकर्मी
काठमाडौँ - अघिल्लो साल गोग्राहा फिल्म कार्यशाला आयोजना गरेर तीन लघु फिल्मलाई निर्माण पुरस्कार दिने घोषणा गरेको नर्थ साउथ कलेक्टिभले यो साल ६ फिल्मकर्मीलाई निर्माणमा सघाउने घोषणा गरेको छ । नर्थ साउथ कलेक्टिभले सोमबार ६ फिल्मकर्मीको छनोट गर्दै आगामी समयमा उनीहरूलाई फिल्म निर्माणमा चाहिने सिप उपलब्ध गराउने घोषणा गरेको हो ।
संस्थाद्धारा जारी विज्ञप्तिअनुसार ‘गोग्राहा फिल्म रेसिडेन्सी २०२२’ नाम दिइएको यो सालको कार्यक्रमका लागि छनौट भएका फिल्मकर्मीमा अभिमन्यु निरबी, निकिता त्रिपाठी, राजेशप्रसाद खत्री, सुनिल गुरुङ, आकांक्षा कार्की र नवविजय श्रेष्ठ रहेका छन् ।
नेपालमा पहिलो दाबी गरिएको रेसिडेन्सी कार्यक्रममा छनौट भएका फिल्मकर्मीले फिल्म लेख्ने रचनात्मक वातावरण, संस्थागत सहयोग र बौद्धिक सामाग्रीहरू पाउनेछन् । गोग्राहाले व्यक्तिगत कथालाई फिल्ममेकिङसँग जोड्ने सिपको विकासमा पनि सघाउने बताइएको छ ।
सुरुमा यो कार्यक्रम घोषणा गर्दा छनोटमा परेका फिल्मकर्मीलाई ६ हप्तासम्म रेसिडेन्सीमा दिने बताइएको थियो तर ओम्रिकोनको संक्रमण बढ्दै गएको सन्दर्भमा यो कार्यक्रम केही लामो समय जान सक्ने प्रोग्राम म्यानेजर शान्ता नेपाली हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
सुरुवाती चरणमा छानिएका फिल्मकर्मीले घरमै बसेर लेखन प्रक्रिया अगाडि बढाउनेछन् भने दोस्रो चरणमा देशी तथा विदेशी फिल्मकर्मीले उनीहरूलाई लेखन तथा निर्माणका विषयमा ज्ञान दिनेछन् । मार्च÷अप्रिलमा यो चरण सकिने विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया