रनवीर कपुरसँग ‘एनिमल’मा काम गर्दै विपिन कार्की
काठमाडौँ - अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् । विपिनले निर्माण टिमले आफूलाई अगस्टमा सुटिङका लागि बोलाएको जानकारी गराए ।
‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरेका सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको यो फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् ।
विपिन फिल्ममा अडिसन दिएर छानिएका होइनन् । मुम्बईबाट निर्माण टिमले सिधै फोन गरेर उनलाई फिल्म खेल्ने प्रस्ताव गरेको हो । विपिनले केही दिन अघि निर्देशक सन्दिपको भाइ प्रणय रेड्डीले फोन गरेर फिल्ममा काम गर्ने प्रस्ताव गरेको र आफूलाई प्रस्ताव ठीक लागेकोले गर्न लागेको इकागजलाई बताए ।
‘एक दिन प्रणयको फोन आयो । मेरो सेल्फी किङ उनीहरुले हेरेको रहेछ । त्यही फिल्मसँग मिल्दोजुल्दो भूमिका भएकाले सम्झिएका हुन् भन्ने लागेको छ,’ उनले भने ।
प्रणयसँग जोड्ने काम भने ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले गरेका हुन् । विपिनका अनुसार विशालले पहिले नै फिल्म प्रणयलाई देखाएको र फिल्म हेरेसँगै यो एक्टरसँग काम गर्छु भनेको र अहिले विशालसँगै नम्बर लिएर सम्पर्क गरेका हुन् ।
‘विशालसँग प्रणयको पहिले नै कुरा भएको रहेछ तर हुन्छ कि हुन्न भनेर विशालजीले नभन्नु भएको रहेछ । अहिले उनीहरुले मलाई लिने मनसाय बनाएर सम्पर्क गर्न खोजेपछि विशालजीले ल फोन आउँदैछ है भन्नु भएको थियो । नभन्दै केहीबेरमा फोन आयो,’उनले पूरा शृंखला सुनाउँदै भने ।
विपिनले फिल्मको स्क्रिप्ट पाएका छैनन् तर प्रणयले बताएअनुसार फिल्ममा उनका अधिकांश दृश्य अनिल कपुरसँग छन् । ‘एनिमल’को अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । मुम्बईमा नै हुने अन्तिम सेड्युलमा विपिन जोडिनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया